८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


सिन्धुलीमा मनोरम प्राकृतिक पार्क


273
Shares

सिन्धुली । सिन्धुली जिल्लाको पिछडिएको दुर्गम स्थान मानिने हरिहरपुरगढी गाउँपालिकाको क्यानेश्वर पानतलेमा मनोरम प्राकृतिक पार्क निर्माण गरिएसँगै पर्यटकहरु बढन थालेका छन् ।

नेपाली भुधरातल र हावापानीमा खेर गइरहेका प्राकृतिक वस्तुहरुको संकलन गरेर सुन्दर पार्क निर्माण गरिएपछि जिल्लाकै दुर्गम तथा पिछडिएको बस्ती पानतले गाउँमा आन्तरिक तथा वाह्य पर्यटकहरुको आगमन बढ्न थालेको हो ।

दक्षिण कोरियाको सेमाउलदोङ परियोजनाअन्तर्गत कोरियन नागरिकहरुको नयाँ गाउँ बनाउँ भन्ने सन्देशका साथ सरकारी सहयोग विनानै स्थानीयको सामुहिक पहल र प्रयासमा यो गाउँमा ढुङगाको प्रयोगबाट पार्क निर्माण गरिएको हो ।

क्यानखोला लगायत यस क्षेत्रमा खेर गइरहेका ठुला ढुंगा संकलन गरेर पार्कमा सजाएर विभिन्न सन्देशहरु समेत लेखिएको छ । यसले अवलोकन गर्न आउनेहरुलाई चेतना प्रवाह समेत गरेको स्थानीयको भनाइ छ ।

समाजको रुपान्तरण र विकासका लागि सबैको सामुहिक सोच र चिन्तन भएमा सरकारको आर्थिक अनुदान बिना पनि केही गर्न सकिने तथ्यलाई दक्षिण कोरियाको सेमाउलदोङ परियोजनाले पुष्टि गरेको विश्लेषण गरिएको छ । पार्क निर्माणले यस क्षेत्रका बासिन्दाको सामाजिक तथा आर्थिक रुपान्तरणमा समेत टेवा पुग्ने बताइएको छ ।