
सर्लाही । नेपाल विद्युत प्राधिकरणले सर्लाहीको दक्षिण-पूर्वी भेग हरिपूर्वामा निर्माण गरेको सवस्टेशन अलपत्र परेको छ ।
हरिपूर्वा नगरपालिका वडा नं. २ मा निर्माण गरिएको सवस्टेशन पोल गाड्ने विषयमा विवाद हुँदा सञ्चालनमा आउन नसकेको हो ।
११ केभी लाइनको २०/२२ वटा पोल गाड्ने विषयमा विवाद हुँदा एक वर्षअघि नै निर्माण पूरा भएको सवस्टेशन अलपत्र परेको नेपाल विद्युत प्राधिकरण मलङ्गवा वितरण केन्द्रले जनाएको छ ।
अनियमित विद्युत् कटौति र भोल्टेज नै नआउने समस्याले हैरान भएका स्थानीय वासिन्दा सवस्टेशन सञ्चालनमा आएपछि समस्या समाधान हुने आशमा बसेका छन् । तर, पोल गाड्ने विषयको विवादले सवस्टेशन नै अलपत्र परेपछि स्थानीय निराश बनेका छन् ।
हरिपूर्वा बजार क्षेत्रबाट सवस्टेशनसम्म बस्ती हुँदै तार लाने वा बस्तीदेखि पूर्व खेतैखेत लाने भन्नेमा विवाद भएको हो । प्राधिकरणको मलङ्गवा वितरण केन्द्रका प्रमुख उमेश प्रसाद यादवले सवस्टेशन निर्माणको काम पूरा भएपनि विवादकै कारण सञ्चालन गर्न नसकिएको बताउनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्