
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले योजना आयोगले राष्ट्रिय आवश्यकता सम्बोधन हुनेगरी योजना निर्माण गर्ने आश गर्न नसकिने बताउनुभएको छ ।
उपाध्यक्ष पौडेलले योजना आयोगले मुलुकको वर्तमान राष्ट्रिय आवश्यकतालाई सम्बोधन गर्ने, विगतका अनुभवहरुको जगमा उभिएर योजनावद्ध प्रयासलाई सार्थक रुपमा गति दिनेगरी योजना निर्माण गर्ने अवस्था नदेखिएको बताउनुभएको हो ।
उपाध्यक्ष पौडेलले वर्तमान सरकारको मातहतमा बनेको योजना आयोगले अघिल्लो सरकारले बनाएको १५ औं योजनालाई उपेक्षा गर्नेगरी योजना निर्माण गरिरहेको आरोप लगाउनु भयो । उहाँले योजना आयोग १६ औं योजनाको निर्माणमा अलमलिरहेको बताउनु भयो ।
उहाँले १६ औं योजना निर्माण गर्दा अहिलेसम्म योजनावद्ध विकासका अभ्यास, प्रयासहरु र तिनले दिएका अनुभवहरुको जगमा उभिएर वर्तमान र दीर्घकालिन आवश्यकतालाई सम्बोधन गरी योजना निर्माणको काममा सरकार लाग्नुपर्नेमा राजनीतिक पूर्वाग्रहका आधारमा आयोग अलमलिरहेको दाबी गर्नुभयो । योजना आयोग आगामी १६ औं योजना बनाउने विषयमा कुहिरोभित्रको काग जस्तै भइरहेको टिप्पणी गर्नुभयो ।
नेकपा एमाले अध्यक्षका केपी शर्मा ओली नेतृत्वको सरकारले निर्माण गरेको १५ औं योजना धेरै दृष्टिकोणले महत्वपूर्ण रहेको पौडलको भनाइ छ । उहाँले १५ औं योजनाले नेपालको योजनावद्ध विकासमा डिपाचर हुने गरी नयाँ दिशाबोध दिएर विकासका परम्परागत अभ्यासहरुलाई ब्रेक थ्रु गरेको उल्लेख गर्नुभयो ।
उहाँले वर्तमान सरकारले १६ औं योजना निर्माण गरिरहँदा १५ औं योजनाले संस्थागत गरेका निस्कर्षहरुलाई आत्मसात गर्ने र आवश्यक विषयलाई निरन्तरता दिने भन्दा पनि तिरस्कार र उपेक्षा गर्नेगरी अगाडि बढेको पाइएको दाबी गर्नुभयो ।
योजना आयोगको १५ औं योजनाका सकारात्मक योगदानहरुलाई निरन्तरता दिने मान्यताबाट विचलित भएको आरोप पौडेलको छ । १५ औं योजनाले राष्ट्रिय दीर्घकालिन र आवधिक लक्ष्य निश्चित गर्र्नेगरी लिएको समृद्ध नेपाल सुखी नेपाली दीर्घकालिन लक्ष्यलाई हटाइएको भन्दै असन्तुष्टि जनाउनु भयो ।
उपाध्यक्ष पौडेलले भन्नुभयो, ‘१६ औं योजना निर्माण गरिरहँदा १५ औं योजनाले संस्थागत गरेका निस्कर्षहरुलाई आत्मसात गर्ने, आवश्यक विषयलाई निरन्तरता दिने र नयाँ योजना भए सम्बोधन गरी जानुपर्ने हो तर १५ औं योजनाहरुलाई तिरस्कार गर्दै बिर्सन र कुल्चिएर उपेक्षा गर्न चाहेको छ । त्यसका सकारात्मक योगदानहरुलाई निरन्तरता दिने मान्यताबाट विचलित भएको छ । १५ औं योजनाले विकासका सन्दर्भमा जस्ता खालको अभ्यास गरिए रहेको थियो त्यसलाई अहिलको योजना आयोगले रोक्यो । विशेष गरी राष्ट्रिय दीर्घकालिन र आवधिक लक्ष्य निश्चित गरेर संविधान निर्माण गरिसकेपछि देशको आर्थिक समाजिक रुपान्तरण मुद्दा मुख्य हो भन्ने कुरा आएपछि संविधानको मर्म अनुरुपको १५ औं योजना निर्माण भएको थियो । त्यसले समृद्ध नेपाल सुखी नेपाली दीर्घकालिन लक्ष्य निर्धारण ग¥यो ।’
पूर्वअर्थमन्त्री समेत रहनुभएका पौडेलले योजना आयोगको १६ औं योजना निर्माणको तयारी गतिलो योजना आउने अवस्था नदेखिएको उल्लेख गर्नुभयो । उहाँले १५ औं योजनाले अघि सारेका योजनाहरुलाई निरन्तरता दिँदै थप आवश्यकताहरुलाई पहिचान गरेर आयोगले योजना निर्माण गरिनु पर्ने बताउनु भयोे । सरकारले १५ औं योजनाप्रति पूर्वाआग्रह राखेर १६ औं योजना बनाउन नहुने उहाँले जिकिर गर्नुभयो ।
उपाध्यक्ष पौडेलले समृद्धि नेपाल सुखी नेपालीको नारा एमालेको सरकारले ल्याएपनि समग्र नेपालीको साझा नारा भएको दाबी गर्नुभयो । उहाँले १६ औं योजनामा मानवीय विकासका आवश्यकताका विषयमा बढी ध्यान दिन सुझाव दिनुभयो ।
१६ औं योजनाले शिक्षालाई मुलुकको आवश्यकताअनुसार बनाउने गरी योजना निर्माण गरी सीप विकास, रोजगारी र आत्मनिर्भरताको विकास गर्नेमा केन्द्रित हुनुपर्ने बताउँदै उपाध्यक्ष पौडेलले विद्यार्थीले देशभित्र गुणस्तरीय शिक्षा आर्जन गर्न सकिन्छ भन्ने विषयमा विश्वासको आधार निर्माण गर्नेमा योजना केन्द्रित हुनुपर्ने बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्