७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


ठगी गर्ने समूहले नै सहकारी पीडितको रकम फिर्ता गर्नुपर्छ : आरजु राणा


611
Shares

काठमाडौं । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति आरजु राणाले सहकारीको रकम ठगी गर्नेले नै सहकारी पीडितको समस्या समाधान गर्नुपर्ने बताउनुभएको छ ।

आइतवार समितिको बैठकमा बोल्दै सभापति राणाले सहकारी पीडितहरुको समस्या राज्यले समाधान गर्नुपर्ने कुराहरु बाहिर आइरहेको भन्दै राज्यले नभएर सहकारीमार्फत पीडितहरुको रकम अपचलन गर्नेहरुले गर्नुपर्ने बताउनुभएको हो ।

सभापति राणाले राज्यले सबै पीडितहरुको समस्या समाधान गर्न नसक्ने भन्दै ठगी गर्नेहरुबाट रकम फिर्ता गराएर समाधान गर्नुपर्ने बताउनु भयो । उहाँले सहकारी ठगी गर्ने समूहलाई सहकारीका बचत कर्ताको रकम फिर्ता गर्न लगाउने तर फिर्ता नगरे कानून बजोमाजिम कारबाही गर्न आवश्यक रहेको बताउनु भयो ।

उहाँले सहकारी पीडितको समस्या समाधान राज्यले गर्छ भनेर बस्न नहुने भन्दै समस्या समाधानका लागि नीतिगत सुधार गर्न प्रधानमन्त्री कार्यालयलाई ध्यानाकर्षण पत्र लेख्ने बताउनु भयो ।

सभापति राणाले प्रधानमन्त्री तहबाट नै सहकारी समस्या समाधानको उपाय निकाल्न सक्ने अवस्था रहेको बताउनु भयो । उहाँले सहकारी ठगी र बचतकर्ताको रकम अपचलन वचतकर्ताहरुको जीवनसँग जोडिएकाले सरकारले गम्भीर भएर दोषीलाई कानून बमोजिम कारबाही गर्नुपर्ने बताउनु भयो ।

राणाले भन्नुभयो,‘ सहकारी समस्याको समाधान सरकारले दिने होइन । सरकारले के–के लाई समाधान दिन्छ । जसले ठगेको छ । त्यही समूहले सहकारी वचतकर्ताको रकम फिर्ता गर्नुपर्छ । सहकारी समस्या समाधानको लागि नीतिगत सुधारको लागि प्रधानमन्त्री कार्यालयलाई ध्यानाकर्षण पत्र लेख्नुपर्छ । त्यहाँबाट नै सहकारी समस्या समाधानको उपाय निकाल्न सक्छन् । सहकारी ठगी र रकम हिनामिना मानिसहरुको जीवनसँग जोडिएको छ ।’

उहाँले नेपालमा बैंक स्थापना गर्न अफ्ठ्यारो तर सहकारी स्थापना गर्नु भनेको चोर बाटो भन्ने बुझाइले धेरै सहकारी दर्ता गरी सजिलै पैसा राख्ने र झिक्न सकिने भएको बताउनु भयो । जुन सहकारीको मूल्य मान्यता र सिद्धान्त विपरित रहेको उहाँले बताउनु भयो । उहाँले २०७४ सालको सहकारी ऐनले वचत तथा ऋणको कारोबार पाउने गरी आएको ऐनलाई टेकेर सहकारीमा भएका ठगीहरु रोक्न कानूनलाई सच्याउन आवश्यक रहेको बताउनु भयो ।