९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


कार्यशैली फेर्ने घोषणा गरेका प्रधानमन्त्री दाहाल निरन्तर पुरानै पथमा


273
Shares

काठमाडौं । गत पुस १० गते प्रधानमन्त्री बनेको एक वर्षको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहालले अब कार्यशैली बदल्ने घोषणा गर्नुभयो । एक वर्षको कार्यकाल उपलब्धिमूलक नभएको आफैंले महशुस गरेको भन्दै हिजोका प्रवृत्ति र गल्ती नदोहोर्‍याउने भन्नुभएका प्रधानमन्त्रीले त्यसपछिका चार हप्तामा गरेका गतिविधिमा कुनै तात्विक भिन्नता देखिएको छैन ।

गत पुष १० गते प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्रनो कार्यकालको १ वर्षको समिक्षा सुनाउँदै प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । तर, त्यसपछिको एक महिनाको अवधिमा पनि प्रधानमन्त्री दाहालका दैनिकी र काममा कुनै भिन्नता भने महशुस हुन सकेको छैन । यसबीचमा उहाँ २० वटा भन्दा बढी कार्यक्रमा सहभागी हुनुभयो । त्यसो त अघिल्लो दिन कार्यशैली बदल्ने घोषणा गरेका प्रधानमन्त्री दाहाल भोलिपल्टै भर्खर विहे गरेकी नातिनीको गाउँ गोरखाको ज्यामिरघाट पुगेर आफ्नै प्रतिवद्धताको धज्जी उडाउनुभयो । त्यसपछि पनि उहाँ सामान्य भन्दा सामान्य उद्घाटन र भेटघाटका कार्यक्रममा अग्रसर भईरहनुभयो ।

पुस १४ गते संयुक्त ट्रेड युनियन समन्वय केन्द्र को छैठौं राष्ट्रिय ट्रेड युनियन सम्मेलनलाई सम्बोधन गर्न मात्रै जानुभएन त्यहाँ पनि पुरानै प्रतिवद्धता दोहोर्‍याउनुभयो ।

त्यसको भोलिपल्टै फेरि टुँडिखेलमा आयोजित तमु ल्होसारको कार्यक्रमलाई सम्बोधन गर्न पुग्नुभयो भने पुष १६ गते नेपाली कांग्रेसले आयोजना गरेको राष्ट्रिय मेलमिलाप दिवसको कार्यक्रममा चार घण्टा खर्चिनुभयो । यस्तै, पुस १७ गते काठमाडौंमा भएको कान्तिपुर एजुकेसन समिटको उद्घाटन गर्न पनि प्रधानमन्त्री दाहाल आफैं पुग्नुभयो ।

१८ गते १६औँ ईन्जिनियरहरुको सम्मेलनमा पुग्नुभएका प्रधानमन्त्री दाहालले सोही दिन ललितपुरमा भूकम्प प्रभावित क्षेत्रमा विपद् व्यवस्थापन तथा पुनर्निर्माण सम्बन्धी अन्तर्क्रिरयामा समेत सहभागी हुनुभयो । पुस १९ गते दाहाल रामेछापको सुनापाति गाउँपालिकामा पुगेर नेकपा माओवादी केन्द्रले आयोजना गरेको बेथान वीरता दिवसको कार्यक्रमलाई सम्बोधन मात्र गर्नुभएन गाउँपालिकाको प्रशासकीय भवन समेत उद्घाटन गर्नुभयो ।

यस्तै, पुस २४ गते आफ्रनै पार्टीको बागमती प्रदेश, उपत्यका विशेष प्रदेश र सम्पर्क समन्वय प्रदेशले काठमाडौंमा गरेको कार्यक्रममा पुग्नुभयो । पुस २७ गते पृथ्वी जयन्तीको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोजना गरेको चियापान कार्यक्रमा समेत पुग्नु भएका प्रधानमन्त्री दाहालले सोही दिन चौंथो राष्ट्रिय वादोरियो खुला कराते प्रतियोगिताको उद्घाटनमा समेत पुग्नुभयो ।

माघ १ गते त प्रधानमन्त्री दाहालले ३ वटा कार्यक्रम भ्याउनुभयो । विहान मेलम्ची पानी वितरणको चौथो पटक उद्घाटन गर्नुभएका प्रधानमन्त्री त्यसलगत्तै अर्घाखाँची सदरमुकाम सन्धिखर्कमा पर्यटन प्रवर्धन कार्यक्रमको उद्घाटन गर्न पुग्नुभयो भने अर्घाखाँचीबाट फर्केर उहाँ टुँडिखेलको माघी कार्यक्रमलाई सम्बोधन गर्न पनि पुग्नुभयो ।

माघ २ गते प्रधानमन्त्री दाहाल राष्ट्रिय भुकम्प सुरक्षा दिवस कार्यक्रमलाई सम्बोधन गर्न चन्द्रागिरि पुग्नुभयो । यही अवधिमा उहाँले भारतिय विदेशमन्त्री एस जयशंकरसँग भेट गर्नुभयो भने माघ ४ गते असंलग्न राष्ट्रहरुको शिखर सम्मेलनमा सहभागी हुन युगान्डा जानुभयो ।

पछिल्लो १ महिनामा उद्घाटन र भेटघाट बाहेक प्रधानमन्त्री दाहाल राजनीतिक भागबण्डाको भागदौडमा पनि व्यवस्त हुनुभयो । ती भागदौडहरु पनि राष्ट्रियसभा निर्वाचनको भागवण्डामा केन्द्रीत थिए । न कि प्रधानमन्त्री दाहालले प्रतिवद्धता गरे जस्तो जनताका मुद्दा, जनजीविका, विश्वविद्यालयको सुधार, परराष्ट्र नीति वा कुनै ठूला आयोजनाहरुको निरीक्षणका लागि थिए ।

यो बिचमा प्रधानमन्त्री दाहालले निर्देशनहरु भने प्रशस्तै दिनुभएको छ । तर, आफुले दिएका निर्देशनहरु अनुसार काम भयो कि भएन भनेर समिक्षा गर्ने फुर्सद भने उहाँलाई छैन ।