९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


विश्वविद्यालयमा ‘ब्रेक थ्रु’ गर्दैछु, बौद्धिक समुदायको साथ चाहियो : प्रधानमन्त्री दाहाल


182
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वविद्यालयलाई अन्तर्राष्ट्रियस्तरको प्रतिस्पर्धी शिक्षण संस्थाका रुपमा विकास गर्न आफू लागि परेको बताउनुभएको छ ।

शिक्षा क्षेत्रमा लामो समय योगदान दिएका विज्ञसँग बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा उहाँले विश्वविद्यालयलाई राजनीतिक भागबण्डाको थलो बन्न नदिन खुला प्रतिस्पर्धाबाट उपकुलपति छनोट गर्न लागिएको स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्री दाहालले भन्नुभयो, “देश बनाउन सबभन्दा ‘बेष्ट ब्रेन’ केन्द्रित हुनुपर्छ, विश्व विद्यालयलाई राजनीतिक भागबण्डाको थलो बनाउनु हुँदैन भनेर विगतको परम्परामा ‘ब्रेक थ्रु’ गर्न लागिएको छ, यसमा बौद्धिक समुदायको साथ र सहयोगको अपेक्षा गरिएको छ”,।

प्रधानमन्त्री दाहालले आफू प्रधानमन्त्री भएदेखि नै उज्यालो र समुन्नत नेपालका लागि सुशासन, सामाजिक न्याय र समृद्धिका पक्षमा अनवरत काम गरिरहेको उल्लेख गर्दै आमजनतालाई देशमै भविष्य छ भनेर भरोसा दिनुपर्ने दायित्व राज्यको भएकाले यसमा बौद्धिक समुदायको पनि महत्वपूर्ण भूमिका रहने बताउनुभयो ।

छलफलमा डा. केदारभक्त माथेमा, डा. पीताम्बर शर्मा, डा. विद्यानाथ कोइराला, डा. चैतन्य मिश्र, प्रा. कृष्ण खनालसहित प्रबुद्ध व्यक्तित्व सहभागीता थियो । उहाँहरुले हालै विश्वविद्यालयमा भागबण्डा नगर्ने र ‘मेरिटोक्रेसी’बाट उपकुलपति छान्ने प्रक्रिया अघि बढाउनुले नयाँ आशा पलाएको बताउनुभएको थियो ।