६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


बैंकहरुले प्रोडक्टबेस कर्जालाई प्राथमिकता दिनुपर्छ : अर्थमन्त्री महत


169
Shares

काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महत अब बैंकहरुले धितोबेस कर्जा भन्दा पनि प्रोडक्टबेस कर्जालाई प्राथमिकता दिन आग्रह गर्नुभएको छ ।

बुधबार काठमाडौंमा राष्ट्रिय वाणिज्य बैंकको ५९ औं वार्षिकोत्सवको अवसरमा बोल्दै अर्थमन्त्री महतले यस्तो बताउनुभएको हो ।

अर्थमन्त्री महतले नेपालमा अधिकांश कर्जा धितोबेस भएकाले कर्जा भन्दा धितो बढी लिएर कर्जा दिने प्रचलन रहेको बताउनुभयो । उहाँले बैंकहरु पनि कर्जा भन्दा बढी धितो लिएर कर्जा लगानी गरेकाले ढुक्क बस्ने गरेको बताउनुभयो । अब बैंकहरुले पनि धितोबेस कर्जा भन्दा पनि प्रोडक्ट अर्थात आयोजनाबेस भएर कर्जा प्रवाह गर्न आवश्यक रहेको औंल्याउनुभयो ।

अर्थमन्त्री महतले बैंकहरुले प्रोडक्टबेस कर्जा दिँदा कर्जा दिन लायक परियोजना भए/नभएको अध्ययन मूल्याङ्कन गर्नुपर्ने बताउनुभयो । उहाँले प्रोजेक्टबेस कर्जामा बैंकहरु जाने हो भने बिस्तारै धितो कर्जाको माग कम हुँदै जानसक्ने दाबी गर्नुभयो ।

मन्त्री महतले मुलुकको अर्थतन्त्र आर्थिक वर्ष २०७९/८० भन्दा सुधार अवस्थामा पुगेको दाबी गर्नुभयो । तर, आर्थिक वर्ष २०७९/८० भन्दा सुधार अवस्थामा पुगेको भएपनि सरकारले सोचेको जस्तो नभएको स्वीकार गर्नुभयो । उहाँले मुलुकको आवश्यकताहरु धेरै तर सरकारसँग साधन स्रोतहरु थोरै भएकाले धेरै आवश्यकताको बीचमा थोरै साधन स्रोत हुँदा प्राथमिकिकरण नपुगेको बताउनुभयो ।

मन्त्री महतले सरकारले सबैभन्दा बढी आवश्यकताको क्षेत्रमा खर्च गर्नुपर्ने बाध्यता रहेको पनि बताउनुभयो । उहाँले सरकारको प्राथमिकता प्राथमिकिकरण गरेर काम गर्ने गरेको उल्लेख गर्नुभयो । सिमित राज्यको साधन स्रोतलाई बढी भन्दा बढी प्रतिफल हुने क्षेत्रलाई प्राथमिकता दिएर खर्च गर्ने वर्तमान अवस्थामा चुनौति रहेको बताउनुभयो । उहाँले पर्यटन आगमन अहिलेसम्मकै उच्च, अर्थतन्त्रको वाह्य परिस्थिति सकारात्मक भएकाले आशा गर्ने ठाउँ रहेको बताउनुभयो ।

मन्त्री महतले पर्यटन आगमन वृद्धि भएसँगै होटलहरु वृद्धि भइरहेको भन्दै बैंकहरुले होटलमा गरेको लगानी डुब्ने खतरामुक्त अवस्थामा आएको बताउनुभयो । उहाँले शेयर बजार र घरजग्गा कारोबार सकारात्मक भइरको बताउनुभयो । उहाँले राष्ट्र बैंकसँग सहकार्य गरे केही सहज बनाउन जरुरी भएकाले सहज बनाएको बताउनुभयो । उहाँले सकारात्मकतर्फ अर्थतन्त्र जाने तथ्याङ्कहरु भएकाले अब लगानीहरु पनि बढ्ने अपेक्षा रहेको बताउनुभयो ।