
इलाम । प्राय: पुरुषहरुले मात्र जनै बनाउँदै आएपनि इलाममा महिलालाई पनि जनै बनाउने तालिम दिइएको छ । बजारको प्रशस्तै सम्भावना देखेपछि महिलालाई स्वरोजगार बनाउने उद्देश्यले इलाम नगरपालिकाले तालिम दिएको हो ।
इलाम नगरपालिकाका एकल महिलालाई नगरपालिकाले दुई दिने तालिमको आयोजना गरेर जनै बनाउन तालिम दिइरहेको छ । बुधबारबाट सुरु भएको तालिम शुक्रबारसम्म चल्ने छ ।
नेपालमा विदेशी मुलुकबाट करोडौँ रुपैयाँको जनै आयात हुने भएकाले स्वदेशमै बनाउँदा रोजगारीका साथै आम्दानी हुने भएकाले तालिममा सहभागी भएको तालीमका सहभागीहरुले बताएका छन् ।
उता जनैको आयात रोक्ने र महिलालाई खाली समयमा अतिरिक्त आम्दानी गर्न सहयोग पुग्ने उद्देश्यले तालिम संचालन गरेको इलाम नगरपालिकाकी उपप्रमुख बिष्णु दाहाल लिम्बुले बताउनुभयो । महिला सीप विकास कोष मार्फत महिलाहरूलाई तालिम दिइएको उहाँले बताउनु भयो ।
पहिले जनै घरघरमै बनाउने गरिन्यो तर नेपालमा चाहिने जति जनै यहीँ बन्न नसकेपछि विदेशबाट यन्त्रले बनाएको जनै आयात हुन थालेको हो ।
प्रतिक्रिया दिनुहोस्