
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वअध्यक्ष तथा नेता डा. प्रकाशचन्द्र लोहनीले पार्टीको कार्यदिशा स्पष्ट हुनुपर्ने बताउनुभएको छ ।
शुक्रबार राष्ट्रिय प्रजातन्त्र पार्टी आन्दोलन परिचालन समितिले गरेको वृहत आन्दोलन पूर्वतयारी छलफलमा बोल्दै नेता लोहनीले पार्टीको कार्यदिशा स्पष्ट हुनुपर्ने बताउनुभएको हो ।
नेता लोहनीले आन्दोलनमा जाने भए आन्दोलनमा जानुपर्ने र आन्दोलन नगर्ने भए नगरी बस्नुपर्ने बताउनुभयो । उहाँले पार्टीको कार्यदिशाको सम्बन्धमा बैठकमा छलफल हुनुपर्ने र बहुमतले पारित गरेको निर्णय लागू हुनुपर्ने बताउनुभयो ।
नेता लोहनीले राप्रपामा आन्दोलनमा जानुपर्ने मत बलियो भएको भन्दै आन्दोलन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले राष्ट्रिय प्रजातन्त्र पार्टी पनि एमाले, काँग्रेस र माओवादी भन्दा फरक रहेनछ भन्ने स्थितिमा पु¥याउनु नहुनेमा शतर्क रहनुपर्ने बताउनुभयो । उहाँले राप्रपाले वैचारिक शक्ति र संगठन निर्माणलाई साथसाथै अगाडी बढाउनुपर्ने बताउनुभयो ।
छलफलमा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले राजा र हिन्दुराष्ट्रको एजेण्डा लिएर जाँदा देशमा न्युनतम ३० प्रतिशतदेखि अधिकतम ५० प्रतिशत जनमत आउने बताउनुभयो । उहाँले नेताहरुको अवसरवादी चरित्र र खराबिको कारण ५० प्रतिशत जनमत भएको ठाउँमा ५ प्रतिशत मात्रै मत आएको बताउनु भयो ।
प्रमुख सचेतक शाहीले पार्टीले सबै नेता, कार्यकर्ताहरुको कुरा सुन्नुपर्ने बताउनुभयो । उहाँले आम निर्वाचनमा उम्मेदवार भएका सबै नेता, कार्यकर्ताहरुलाई संगठित र एकीकृत गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्