२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


सुदूरपश्चिममा माओवादी विवाद : निर्णय सच्याउन प्रदेश कमिटीको निर्देशन


130
Shares

कैलाली (विराज रोस्यारा) । सुदूरपश्चिम प्रदेशमा माओवादी संसदीय दलको नेता फेर्ने निर्णय सच्याउन प्रदेश कमिटीले निर्देशन दिएको छ ।

प्रदेश संसदीय दलको नेता रहेका खगराज भट्टलाई दलको नेताबाट हटाएपछि सच्याउन माओवादी सुदूरपश्चिम प्रदेश कमिटीले निर्देशन दिएको हो ।

माओवादी केन्द्र, सुदूरपश्चिमका प्रदेश कमिटीका अध्यक्ष हरि चौधरी (उत्सव) र सचिव जनकबहादुर बुढाले हस्ताक्षर गरेको विज्ञप्तिमा केन्द्रीय कार्यालयको निर्देशनको अवज्ञा, पार्टीमा अराजकता र स्वेच्छाचारिताले संस्थागत मान्यता पाउने तथा कार्यकताहरूको मनोभावनाको विपरीत भएको भन्दै दलको नेता फेर्ने निर्णय सच्याउन भनिएको छ ।

प्रदेश कमिटीका अध्यक्ष चौधरीले माओवादी केन्द्रबाट विजयी ६ जना प्रदेश सभा सदस्यले गल्ती गरेको बताएका थिए । संसदीय दलका उपनेता अक्कलबहादुर रावलको अध्यक्षतामा शुक्रवार बसेको बैठकले दलको नेतामा मानबहादुर धामीलाई चयन गरेको थियो ।

भट्टलाई हटाएर धामीलाई दलको नेता चयर गरेपछि माओवादी पार्टीको प्रदेश कमिटीको बैठक बसेको थियो । सुदूरपश्चिममा मन्त्री फेरबदलको विषयले माओवादीभित्र आन्तरिक द्वन्द्व बढेको छ ।