६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


‘भारतीय कम्पनीलाई नेपालका अन्तर्राष्ट्रिय विमानस्थलको जिम्मा दिनुहुँदैन’


234
Shares

काठमाडौं । नागरिक अभियन्ताहरुले भारतीय कम्पनीलाई नेपालको अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको जिम्मा दिँदा रणनीतिक स्वार्थमा ठूलो आघात पर्ने बताएका छन् ।

बुधबार काठमाडौंमा भएको नेपालमा अन्तर्राष्ट्रिय विमानस्थलहरु विदेशीसँग सौदाबाजी गर्ने षड्यन्त्रकाविरुद्ध अन्तरक्रिया कार्यक्रममा बोल्दै अभियन्ताहरुले यस्तो बताएका हुन् । उनीहरुले आर्थिक सामाजिक हिसावमा एउटै मुलुकसँग आश्रित रहनुपरेको अवस्थामा त्यही देशको कम्पनीलाई अन्तर्राष्ट्रिय उडानको जिम्मा दिनु भनेको रणनीतिक स्वार्थ माथिको ठूलो आघात भएको बताएका हुन् । उनीहरुले बाहिर आएको जस्तो नेपालका सबै अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको जिम्मा भारतीय अडानि ग्रुपलाई दिने तयारी भएको भए घातक विषय भएको बताए ।

नागरिक अभियन्ता एवं नेपाल सरकारका पूर्वमुख्यसचिव लिलामणि पौडेलले अन्तर्राष्ट्रिय विमानस्थलहरु भारतीय कम्पनीलाई सञ्चालन गर्न दिनेकुरा आर्थिक, प्राविधि र राष्ट्रको दीर्घकालिन हिसावले उपयुक्त नभएको बताउनुभयो । उहाँले भूपरिवेष्ठित मुलुकहरुले वाह्य विश्वसँग सम्पर्क गर्ने माध्यम हवाई र रेल्वे यातायात भएको बतउनुभयो । उहाँले नेपालले हवाई उडानलाई विदेशी मुलुकसँग बहुपक्षीय सम्बन्ध बिस्तारको लागि प्रयोग गरिरहेको बताउनुभयो ।

पूर्वमुख्यसचिव पौडेलले आर्थिक, सामाजिक हिसावमा एउटै मुलुकसँग आश्रित रहनुपरेको अवस्थामा त्यही देशको कम्पनीलाई अन्तर्राष्ट्रिय उडानको जिम्मा दिनु भनेको देशलाई ठूलो आघात हुनु रहेको धारणा राख्नुभयो । उहाँले नेपालको वाह्य मुलुकसँग जोडिने माध्यम भनेको हवाई यातायात भएको भन्दै अन्तर्राष्ट्रिय विमानस्थलहरु राज्यको अग्रसरतामा सञ्चालन गराउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा बोल्दै पूर्वअख्तियार प्रमुख सूर्यनाथ उपध्यायले नेपालमा सबै अन्तर्राष्ट्रिय विमानस्थल भारतीय कम्पनीलाई सञ्चालनमा दिने विषय बाहिर आएकाले यसको विषयमा प्रधानमन्त्रीले संसदमा जवाफ दिनुपर्ने रहेको बताउनुभयो । उहाँले वर्तमान सरकार भारतसँग कम्फरटेबल रहेको प्रधानमन्त्री पुष्पकमल दाहालको भनाईले सबैकुरा बुझ्न सहज हुने बताउनुभयो ।

पूर्वअख्तियार प्रमुख उपध्यायले सरकारले दिन चाहेको भए जनतालाई भ्रममा राख्न नहुने भन्दै प्रधानमन्त्रीले जवाफ दिनुपर्ने बताउनुभयो । उहाँले यदी सरकारले भारतीय कम्पनीलाई सबै अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न दिने तयारी गरेको भए देशको लागि घात हुने बताउनुभयो । उहाँले भारतीय कम्पनीलाई विमानस्थल सञ्चालन गर्न दिँदा मुलुकको सुरक्षामा खतरा आउने बताउनुभयो ।

नेकपा मालेका महासचिव सिपी मैनालीले नेपाल घेरेको मुलुकको कम्पनीलाईअन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न दिन नहुने बताउनुभयो । उहाँले मुलुक गरिब र विमानस्थल सञ्चालनको विज्ञतामा कमी भएपनि भारतीय कम्पनीलाई दिन नहुने भन्दै नेपाल सरकारले नै सञ्चालन गर्नुपर्ने जिकिर गर्नुभयो । उहाँले अन्तर्राष्ट्रिय विमानस्थल मुलुकको सुरक्षासँग जोडिएको राजनीतिक विषय पनि भएको दाबी गर्नुभयो ।

मैनालीले अन्तर्राष्ट्रिय विमानस्थल भारतीय कम्पनीलाई सञ्चालन गर्न दिने विषय मुलुकको सुरक्षा,राजनीति र भूराजनीतिबाट अलग गरेर हेर्न नसकिने बताउनुभयो । उहाँले वर्तमान सरकार बनेदेखि विवादास्पद बन्दै गएको बताउनुभयो । उहाँले सरकारलाई मुलुकलाई आघात हुने खालका कामहरु गर्न छुट नभएको भन्दै सबैले खबदारी गर्न आवश्यक रहेको बताउनुभयो ।