२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


संसद अधिवेशनभर राजधानी नछोड्न सांसदहरुलाई कांग्रेसको निर्देशन


273
Shares

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले आगामी संसद अधिवेशनभर राजधानी नछोड्न सांसदहरुलाई निर्देशन दिएको छ ।

शुक्रबार बसेको कांग्रेस संसदीय दलको बैठकले आगामी संसद अधिवेशनभर राजधानी काठमाडौं नछोड्न सांसदहरुलाई निर्देशन दिएको हो ।

विगतमा संसदको बैठक तथा समिति बैठकहरुमा गणपूरक संख्या नपुगेर बैठक स्थगित गर्नुपर्ने अवस्था आएकोले यस अधिवेशनमा भने सांसदहरुलाई अनिवार्य उपस्थितिका लागि निर्णय गरिएको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिनुभयो । उहाँले नेपाली कांग्रेसका सांसदहरु निरन्तर रुपले सभा र समितिहरुमा उपस्थित हुनुपर्ने र प्रभावकारी ढंगले काम गर्नुपर्ने निर्णय भएको बताउनुभयो ।

प्रमुख सचेतक लेखकले संसदको अधिवेशन चल्दासम्म नेपाली कांग्रेसका सांसदहरुलाई राजधानी नछोड्न निर्देशन दिइएको बताउनुभयो । यदि कुनै अत्यावश्यक कामले राजधानी छोड्नु परेमा संसदीय दलको प्रमुख सचेतक अथवा सचेतकबाट लिखित रुपले स्वीकृति लिएर मात्रै राजधानी छोड्न निर्देशन दिइएको उहाँले स्पष्ट पार्नुभयो ।

काँग्रेस संसदीय दलले संसद र समितिको बैठकमा अनिवार्य उपस्थित हुन, बैठक चल्दासम्म बस्न र क्रियाशिलतापूर्वक समिति र सभाको गतिविधिहरुमा भाग लिन पनि सांसदहरुलाई निर्देश गरेको प्रमुख सचेतक लेखकले जानकारी दिनुभयो । बैठकले सभा र समितिको बैठकमा मन्त्रीहरुको उपस्थिति अनिवार्य गराउन सरकारलाई आग्रह समेत गरेको छ ।

बैठकले संविधान कार्यान्वयनसँग सम्बन्धित विधेयकहरुलाई चाँडोभन्दा चाँडो प्रश्तुत गर्न सरकारलाई आग्रह पनि गरेको छ । त्यसैगरी काँग्रेसले संसदका गतिविधिलाई व्यवस्थित गर्न र संसदलाई प्रभावकारी बनाउन अरु राजनीतिक दलहरुलाई अपील पनि गरेको छ ।

बैठकले संसदीय दलको विधान अनुरुप दलको समितिमा संयोजक तोकेको छ । जसअनुसार अर्थ समितिमा रामनाथ अधिकारी, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा डा. नारायण खड्का, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा रमा कोईराला पौडेल र कानुन, न्याय तथा मानव अधिकार समितिमा नागिना यादवलाई संयोजकको जिम्मेवारी दिइएको छ ।

त्यसैगरी, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा कुुसुमदेवी थापा, महिला तथा सामाजिक मामिला समितिमा आशा विक., राज्य व्यवस्था तथा सुशासन समितिमा दिलेन्द्रप्रसाद बडू, पूर्वाधार विकास समितिमा दिनेशकुमार यादव, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा लिलादेवी वोखिम लिम्बू र सार्वजनिक लेखा समितिमा श्यामकुमार घिमिरेलाई संयोजक तोकिएको प्रमुख सचेतक लेखकले जानकारी दिनुभयो । बैठकले नेपाली काँग्रेस संसदीय दलको कार्यसमितिको निर्वाचन गर्ने र केन्द्रिय समितिलाई निर्वाचन समिति तोक्न अनुरोध समेत गरेको उहाँले बताउनुभयो ।

कांग्रेस संसदीय दलले राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनको तर्फबाट कोशी प्रदेशको एक जना उम्मेदवार पराजित हुनुलाई अनपेक्षित र गम्भिरतापूर्वक लिएको उहाँले बताउनुभयो ।

बैठकले चालु आर्थिक वर्षको बजेटमा उल्लेख गरिएका विकास आयोजनाको तत्काल कार्यान्वयन गर्न र बजेट कम भएका कारण सम्पन्न हुन नसक्ने योजनाहरुमा थप बजेट व्यवस्था गरी आयोजना सम्पन्न गर्न सरकारलाई आग्रह पनि गरेको छ ।