
काठमाडौं । सोमबारदेखि संघीय संसदको हिउँदे अधिवेशन सुरु भयो । प्रतिनिधि सभाको आगामी बैठक बुधबार बस्नेगरी बोलाइएको छ । बुधबारको बैठकमा दलका शीर्ष नेताहरुले बोल्ने सम्भावित कार्यसूचि रहेको छ । विधेयक अधिवेशनको रुपमा रहेको यस हिउँदे अधिवेशनबाट धेरैभन्दा धेरै विधेयकहरु पारित गर्नुपर्ने दबाबमा संसद र सरकार दुवै छन् । किनभने संविधान कार्यान्वयनसँग जोडिएका कयौँ विधेयकहरु पारित हुन सकेका छैनन् । यस अधिवेशनमा प्रश्तुत हुनका लागि सांसदहरुले पनि आ–आफ्नो प्रकारको तयारी गरिरहेका छन् । यस अधिवेशनमा के–कस्ता विषयहरु उठाउने योजना सांसदहरुले बनाइरहेका छन् त ? न्युज एजेन्सी नेपालले केही सांसदहरुको तयारीको बारेमा प्रश्न गरेको छः
नेकपा(एमाले)का प्रमुख सचेतक पदम गिरीले विकास निर्माणका कामहरु अस्तव्यस्त भएको र सुशासन कायम हुन नसकेको भन्दै यसतर्फ आफूले आवाज उठाउने बताउनुभयो । उहाँले राष्ट्रिय हितका सवालहरु ओझेलमा परेका भन्दै यो विषयलाई पनि प्राथमिकता दिने बताउनुभयो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले यस अधिवेशनमा कानूनहरु बनाउनका लागि आफ्नो विशेष भुमिका रहने बताउनुभयो । उहाँले जनताको जिवनसँग जोडिएका सरोकारका विषयहरुमा पनि पहरेदारी गर्ने बताउनुभयो ।
जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले संसदमा जलवायु परिवर्तनका असरहरुको सम्बन्धमा कुरा उठाउने तयारी रहेको बताउनुभयो । उहाँले तराईमा पानीको सतहमा समेत असर परिरहेको भन्दै यसतर्फ संसदमार्फत ध्यानाकर्षण गराउने बताउनुभयो । उहाँले चुरे संरक्षण नभइरहेको र भुमाफियाहरुको चलखेल भइरहेको भन्दै यो विषयलाई पनि मुद्दा बनाउने बताउनुभयो ।
नेकपा(एमाले)का सांसद सूर्यप्रसाद ढकालले सरकारले राष्ट्र र जनताप्रति जवाफदेही भएर काम गर्न नसकेकाले सरकारलाई नियन्त्रण र सन्तुलनमा राख्ने बताउनुभयो । उहाँले धेरैभन्दा धेरै कानुनहरु बनाउनका निम्ति सरकारलाई दबाब दिने बताउनु यो । सामाजिक सद्भाव र सामाजिक एकता खल्बल्लिइरहेको भन्दै उहाँले यस विषयमा पनि बोल्ने बताउनुभयो ।
नेकपा(माओवादी केन्द्र)का सांसद अमनलाल मोदीले सरकारले ल्याउने महत्वपूर्ण विधेयकहरुलाई पारित गर्न सशक्त भुमिका खेल्ने बताउनुभयो । उहाँले जनजिविका र सार्वजनिक महत्वको विषयमा पनि आवाज उठाउने बताउनुभयो । भ्रष्टाचारको विषयमा पनि आफूले कुरा उठाउने उहाँको भनाई छ ।
नेपाली कांग्रेसका सांसद सन्तोष चालिसेले जनताको पक्षमा कानून बनाउन भुमिका निर्वाह गर्ने बताउनुभयो । उहाँले कानून निर्माणको निम्ति जनताले महशुस गर्नेगरी काम गर्ने बताउनुभयो ।
नेकपा(माओवादी केन्द्र)की सांसद विमला सुवेदीले संघीयता कार्यान्वयनसँग सम्बन्धित विधेयकहरु पारित गर्ने कुरामा आफ्नो प्राथमिकता रहने बताउनुभयो । त्यस्तै, अन्य सबै विधेयकलाई पारित गर्ने कुरामा नै अधिवेशनभरमा जोड दिइने उहाँले बताउनुभयो ।
सांसदहरुले आकस्मिक, शुन्य र विशेष समयहरुमा जनताको जनजीविकामा परेका समस्याहरु, राष्ट्रिय राजनीतिका विषयमा लगायत समसामयिक विषयमा आवाज उठाएर सरोकारवाला पक्षलाई घच्घच्याउने पनि बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्