
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले चैत्रअघि नै प्रदेशले प्रहरी समायोजनको अधिकार पाउने बताउनुभएको छ ।
बुधबार सिंहदरबारमा बसेको राष्ट्रिय समन्वय परिषद्को बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै मुख्यमन्त्री कार्कीले यस्तो बताउनुभएको हो ।
मुख्यमन्त्री कार्कीले बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले प्रदेश मुख्यमन्त्रीसँग परिषद्को तेस्रो बैठकमा प्रहरी समायोजन, निजामती कर्मचारी सेवा ऐन, विद्युत ऐन लगायतका प्रदेशसँग सम्बन्धित केही अधिकारहरु दिने प्रतिवद्धता गर्नुभएको बताउनुभयो । उहाँले परिषद्को तेस्रो बैठक प्रदेशलाई केही अधिकार दिएर मात्रै बस्ने प्रधानमन्त्रीको प्रतिवद्धता रहेको उहाँको भनाइ थियो ।
मुख्यमन्त्री कार्कीले परिषद्को पहिलो बैठकले गरेका निर्णयहरु कार्यान्वनय नभएको बताउनु भयो । उहाँले प्रदेश सरकारको अबको संघर्ष कानून निर्माणका लागि संघीय संसदसँग हुने बताउनुभयो ।
मुख्यमन्त्री कार्कीले संघ सरकारले कानून नबनाइदिँदा प्रदेश सरकारले काम गर्न नपाएको गुनासो गर्नुभयो । उहाँले संघ सरकार सत्तामा मात्रै केन्द्रित भएको आरोप लगाउनु भयो ।
प्रतिक्रिया दिनुहोस्