१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


साइबर अपराधका १३ हजार तीन सय ३० निवेदन प्रहरीमा


78
Shares

काठमाडौं । चालु​​ आर्थिक वर्षको सात महिनामा साइबर अपराधसम्बन्धी १३ हजार तीन ३३० निवेदन प्रहरीमा दर्ता भएको छ ।

साउनदेखि माघ २३ गतेसम्म सामाजिक सञ्जालसम्बन्धी ११ हजार चार सय २५ निवेदन दर्ता भएको छ भने सूचना प्रविधिसँग सम्बन्धित वित्तीय अपराध एक हजार ९०५दर्ता भएका छन् । साइबर अपराधमा मुद्दा चलेकामध्ये हालसम्म ५१ जना पक्राउ परेको जनाइएको छ ।

नग्न तस्विरमा व्यक्तिको मुहार जोडी विभिन्न सामाजिक सञ्जालमा राख्ने, अश्लील तस्विर तथा भिडियो सामाजिक सञ्जालमा प्रकाशन गर्ने, अरूको सूचना आफ्नो नियन्त्रणमा लिइ फिरौती माग गर्ने प्रवृत्ति बढेको प्रहरीले जनाएको छ ।

यस्तै सामाजिक सञ्जालमा अन्य व्यक्तिको नाम तथा तस्बिर प्रयोग गरी प्रोफाइल पेज खोलेर बेइज्जत गर्ने सरकारी तथा अन्य संघसंस्थाको वेबसाइट ह्याक गर्ने र अनलाइन ठगी गर्नेक्रम पनि बढेको बताइएको छ ।

नेपाल प्रहरीका अनुसार सूचना प्रविधिको विकास र प्रयोगसँगै देखिने यस्ता प्रवृत्ति र अपराधका नयाँ शैलीले साइबर अपराध अनुसन्धान कार्यलाई चुनौती थपिएको छ ।

सात महिनामा दर्ता भएका निवेदनमध्ये सामाजिक सञ्जालतर्फ फेसबुक म्यासेञ्जरको दुरूपयोगका नौ हजार ३५०, भाइबरका १६, इमोका ६, युट्यबका ३९, ट्वीटरका ६, इन्स्ट्राग्रामका ४३२ र वेबसाइट ह्याकिङका ६ वटा छन् भने टिकटकका ६६७, इमेलका ८०, ई–सेवाका १९० र अन्य साइबर अपराधतर्फ ११८ वटा छन् ।

यसैगरी, सूचना प्रविधिसँग सम्बन्धित वित्तीय अपराध सामाजिक सञ्जाल ह्याकका ४३ , उपहार र पैसा पठाएकोसम्बन्धी २६४ र लोटरी परेको प्रलोभन देखाइ ठगी गरेका ३३ वटा छन् । वैदेशिक रोजगारको प्रलोभनका ३८, अनलाइन जागिर कोठा खोजी दिनेतर्फ ३५ र बैंक तथा वालेट अफिसबाट बोलेको भनेर एकाउन्ट ह्याकका १५२ वटा छन् ।

मास्टर कार्डरमनी एक्सचेञ्जसमेत ६१, भिडियो सेयरिङ र ब्ल्याकमेलिङका ३५, क्रिप्टोसँग सम्बन्धित ९५, अनलाइन सपिङका ४६०, सामाजिक सञ्जाल फेक आईडी ६७ वटा र अन्य साइबर अपराधमा २६२ वटा उजुरी परेका छन् ।