
काठमाडौं । मिडियाहरुलाई व्यवस्थित ढंगले सञ्चालन गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।
शुक्रबार प्रेस काउन्सिल नेपालको आयोजनामा युट्युबसहित सामाजिक सञ्जालको मिडियामा प्रभाव विषयक सम्पादक संवादमा बोल्दै सरोकारवालाहरुले मिडियाहरुलाई व्यवस्थित ढंगले सञ्चालन गर्नुपर्नेमा जोड दिएका हुन् । उनीहरुले मिडियाहरु आर्थिक रुपमा संकटपूर्ण रहेको उल्लेख गर्दै मिडियालाई संकटबाट जोगाउनुपर्ने बताएका छन् ।
कार्यक्रममा बोल्दै विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले मिडियाका सामग्रीहरु निःशुल्क रुपमा दिनाले मिडियाहरु आर्थिक संकटमा फसेका भन्दै मिडियाले सशुल्क मात्रै सामाग्री दिनुपर्ने बताउनुभयो । विश्वमा कतिपय ठाउँमा राज्यले सञ्चालन गरेका मिडिया समेत सशुल्क हुने गरेको भन्दै निजी क्षेत्रले व्यवसायिक रुपमा सञ्चालन गरेका मिडियाहरु झनै निःशुल्क हुनु नहुने बताउनुभयो । उहाँले बोर्डले सामाजिक सञ्जालमा बाहिर जाने विज्ञापनको पैसा रोकिदिइरहेको पनि जानकारी दिनुभयो । कानून नबनिकन सो पैसा बाहिर जान नदिने उहाँको भनाई छ ।
पत्रकार किशोर नेपालले मिडियाहरु सरकारले नियन्त्रण गर्ने खालको कानून ल्याउँदा पनि प्रतिरोध गर्न नसक्ने अवस्थामा रहेका बताउनुभयो । उहाँले देशका सबै संयन्त्रहरुलाई माफियाहरुले कब्जामा लिइसकेका भन्दै यसको विरुद्धमा पत्रकारिताले बोल्नुपर्ने बताउनुभयो ।
पत्रकार प्रतिक प्रधानले नयाँ प्लेटफर्म युट्युबबाट पत्रकारिता गर्न चाहानेहरुलाई पनि सम्बोधन गर्नुपर्ने बताउनुभयो । उहाँले पत्रकारितालाई स्वस्थ ढंगको विज्ञापनको माध्यमबाट चलाउनका लागि सरकारले सोच्नुपर्ने बताउनुभयो । उहाँले मिडियालाई व्यवसायिक बनाउनुपर्नेमा जोड दिनुभयो ।
त्यस्तै, नेपाल प्रेस युनियनका पूर्वअध्यक्ष बद्री सिग्देलले नयाँ, पुराना सबै मिडियाहरु फस्टाउन पाउनुपर्ने बताउनुभयो । उहाँले सामाजिक सञ्जाल नयाँ मिडिया भएको उल्लेख गर्दै यसलाई व्यवस्थित र नियमन गर्दै जानुपर्नेमा जोड दिनुभयो । उहाँले कुनैपनि मिडियालाई कसैले पनि नियन्त्रण गर्नु नहुने बताउनुभयो । मिडियालाई कसैले प्रतिवन्ध लगाउनु नहुनेपनि उहाँको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्