
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले चिनियाँ नाकालाई आयातमुखी भन्दा पनि निर्यात प्रवर्द्धनको रुपमा विकास गर्न आवश्यक रहेको बताउनुभएको छ ।
शनिबार काठमाडौंमा भएको नेपाल हिमालय सीमापार वाणिज्य संघको २४ औं साधारण सभालाई सम्बोधन गर्दै परिसंघका अध्यक्ष मल्लले यस्तो बताउनुभएको हो ।
अध्यक्ष मल्लले केरुङ र तातोपानी नाकालाई निर्यात प्रवर्द्धनको रुपमा विकास गर्न दुवै नाकामा अन्तर्राष्ट्रिय स्तरको क्वारेन्टाइन ल्याव सरकारले राख्न आवश्यक रहेको बताउनुभयो । उहाँले दुबै नाकामा अन्तर्राष्ट्रिय स्तरको क्वारेन्टाइन ल्याव सरकारले राख्नसाथ नेपालको निर्यात प्रवर्द्धन हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले क्वारेन्टाइनको अभावका कारण सामान गुणस्तर नहुने भन्दै नेपाली सामान चिनले निर्यात गर्न नचाहेको बताउनुभयो ।
अध्यक्ष मल्लले दुईवटा नाकाबाट धेरै चिनियाँ पर्यटकहरु नेपालमा आउने गरेको भन्दै नाका प्रयोग गरेर नेपाल भ्रमणमा आउने पर्यटकहरुलाई सहज बनाउन आवश्यक रहेको बताउनुभयो । उहाँले नाकाहरुलाई पर्यटन आगमनको प्रवेश बिन्दुको रुपमा विकास गर्न आवश्यक रहेको बताउनुभयो ।
अध्यक्ष मल्लले चीनसँग नेपालको १ खर्ब ४५ अर्ब व्यापार घाटामा रहेको भन्दै पर्यटन प्रवद्र्धन र नेपाली जडिबुटीको निर्यात गर्नसके मात्रै पनि चीनसँगको व्यापार घाटा कम गर्न सकिने दाबी गर्नुभयो । उहाँले चीनसँग नेपालले अर्बमा गरिरहेको निर्यात खर्बमा पुर्याउन सरकारले समयमा ऐन नियमहरु बनाएर जानुपर्नेमा जोड दिनुभयो । उहाँले केरुङ र तातोपानी नाका जोड्ने सडक मार्गलाई ४ लेन बनाउन आवश्यक रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्