
काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले वर्तमान सरकारले रुसी सेनामा भर्ती भएका नेपालीहरु फर्काउनका लागि रुससँग कुटनैतिक पहल र संवाद गर्नसक्ने क्षमता देखाउन नसकेको बताउनुभएको छ ।
आइतवार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै महामन्त्री शर्माले सरकारले हालसम्म नेपालस्थित रुसी राजदुतलाई बोलाएर संवाद गर्नु बाहेकको पहल गर्न सकेको छ की, छैन ? भन्दै प्रश्न गर्नुभयो ।
महामन्त्री शर्माले रुसी सेनामा भर्ती भएका नेपालीको यकिन तथ्यांक सरकारसँग नरहेको बताउँदै नागरिकलाई सरकार छ भन्ने महशुस गराउन सरकारले रसियामा गएर सैनिक भइ बसेका नेपालीको उद्धार गर्ने कुरामा गम्भीरतापूर्वक लिनुपर्ने बताउनु भयो ।
उहाँले ६ फेब्रुअरीको साँझ एयर अरबियाको जहाजबाट नेपाल आउन लागेका सुरेन तामाङ, सजन लोप्चन तामाङ र मदन कुमाललाई मस्कोस्थित विमानस्थलबाट पक्राउ गरी रुसी सेनाको कब्जामा रहेको विषयमा सरकार जानकार छ की छैन भन्दै प्रश्न गर्नुभएको थियो । महामन्त्री शर्माले रुसी सेनामा भर्ती भएकाहरुको उद्धार गर्न सरकारको पहल नपुगेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्