२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


मध्यपहाडमै भविष्यको खोजी गर्नसक्ने गरी नीति कार्यक्रम बनाउनुपर्छ : उपाध्यक्ष पौडेल


195
Shares

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले मध्यपहाडी क्षेत्रमा नै भविष्यको खोजी गर्नुपर्छ भन्ने सन्देश दिनेगरी आगामी नीति तथा कार्यक्रम बनाउनुपर्ने बताउनुभएको छ ।

बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा मुख्यसचिव र मन्त्रालयका सचिवहरुलाई एमालले झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’का क्रममा जनताका माग समेटेको ध्यानाकर्षणपत्रका विषयमा छलफल गर्दै उपाध्यक्ष पौडेलले यस्तो बताउनुभएको हो ।

उपाध्यक्ष पौडेलले संकल्प यात्राका क्रममा मध्येपहाडी लोकमार्ग क्षेत्रको विकासका ध्यान नदिँदा त्यो क्षेत्रमा जनसांख्यिक असन्तुलन आइरहेको भन्दै त्यस्ता खालका असन्तुलन रोक्नको लागि सरकारले आगामी वर्षको नीति कार्यक्रम र बजेटमा आउने गरी मन्त्रालयगत विषयलाई महत्वका साथ अगाडि बढाउन सचिवहरुलाई आग्रह गर्नुभयो । उहाँले सरकारले मध्यपहाडी लोकमार्गलाई देशको मेरुदण्डको रुपमा विकास गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभयो ।

उपाध्यक्ष पौडेलले सरकारले मध्यपहाडी लोकमार्गको झुलाघाट–चिवाभञ्ज्याङसम्मकै डिपिआर परिमार्जन गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले डिपीआर परिमार्जन गर्दा अनावश्यक रुपमा घुमेका मार्गलाई करेक्शन गर्न पनि आवश्यक देखिएको भन्दै करेक्शन गर्दा केही दूरी कम हुने बताउनुभयो । उहाँले मध्येपहाडी लोकमार्गको डिपिआर परिमार्जन गर्ने र नयाँ डिपिआर गर्ने क्रममा सम्भावित सुरुङ मार्गको अध्ययनमा समावेश गर्नुपर्ने बताउनुभयो ।

उपाध्यक्ष पौडेलले मध्येपहाडी लोक राजमार्गलाई वर्तमान अवस्थाका प्रविधिलाई जोडेर बनाउने हो भने मध्येपूर्वका जिल्लाबासीहरु काठमाडौं आउँदा मध्येपहाडी लोकमार्ग प्रयोग गर्नसक्ने अवस्था रहेको बताउनुभयो । उहाँले मध्यपहाडी क्षेत्रको विकासमा सरकारले ल्याउने बजेटमा यो विषयलाई प्राथमिकताका साथ समावेश गर्न माग गर्नुभयो । उहाँले उक्त मार्गलाई दोब्बर लेनको बाटोको रुपमा निर्माण गर्ने वातावरण बनाउन आग्रह गर्नुभयो ।

उपाध्यक्ष पौडेलले यस क्षेत्रमा सिंचाई, खानेपानी,कृषि,फलफूल क्षेत्रमा लगानी गर्नुपर्ने आवश्यक देखिएको बताउनुभयो । उहाँले मध्यपहाडी क्षेत्रको समग्र विकासका लागि सडक पूर्वाधार सिंचाई, खानेपानी, शिक्षा स्वास्थ्य र भौतिक र मानवीय विकासका सबै आधारित भएर माग पत्रमा समावेश गरेको भन्दै सचिवहरुले प्राथमिकता दिन आवश्यक रहेको बताउनुभयो । उहाँले मध्यपहाडको विकासको मुद्दालाई सरकारले प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

छलफलमा सरकारका मुख्यसचिव डा.वैकुण्ठ अर्यालले एमालले बुझाएको सुझाव कुनै पार्टी विशेष भन्दा पनि समग्र देशको आवश्यकता र मध्यपहाडी क्षेत्र र आसपासका ठाउँहरुको समग्र विषय समावेश भएकाले त्यही अनुसार प्राथमिकता दिएर काम गर्न सचिवहरुलाई निर्देशन दिनुभयो । उहाँले मध्यपहाडी लोकमार्गको विषयमा आएका सुझावलाई अध्ययन गरेर मन्त्रालयगत गर्नुपर्ने आवश्यक निर्देशन मन्त्रीबाट लिएर अगाडि बढ्न सचिवहरुलाई आग्रह गर्नुभयो ।

नेकपा एमालेले मंसिर १४ देखि पुस १ गतेसम्मको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ का क्रममा जनताका माग र पार्टीले अनुभुति गरेका विषयहरूलाई समेटेर सरकारलाई ध्यानाकर्षण पत्र बुझाएको छ । त्यही विषयमा मन्त्रालयगत रुपमा कार्यान्वयनको लागि आवश्यक छलफल गरेको छ । ध्यानाकर्षणपत्रमा सडक, कृषि, उद्योग भवन निर्माण, खेलकुद, खानेपानी लगायतका विषय समेटिएका छन् ।