१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


खोटाङमा धाप्लाङ–सिन्ताङ–बराहपोखरी सडक स्तरोन्नति गरिँदै


364
Shares

खोटाङ । खोटाङको बराहपोखरी गाउँपालिकाबाट पूर्वी तराईका विभिन्न जिल्ला जोड्ने धाप्लाङ–सिन्ताङ–बराहपोखरी सडकको स्तरोन्नतिको काम अगाडि बढेको छ ।

संघीय सरकार र प्रदेश सरकारसँगको साझेदारीमा गाउँपालिकाको क्रमागत योजनाअन्तर्गत सडकलाई दुईखण्डमा विभाजन गरेर स्तरोन्नति गरिँदैछ ।

प्रदेश सरकार र गाउँपालिकाको ५०्५० प्रतिशत लागत साझेदारीमा धाप्लाङघाटदेखि बिचशङ्खे–खाकरगैरा तथा चेकेथुमखण्डको सडक स्तरोन्नतिको काम शुरु गरिएको बराहपोखरी गाउँपालिकाले जनाएको छ ।

बराहपोखरी गाउँपालिका–२ सुन्तलेमा पर्ने दुवै सडकखण्डमा ग्याबिन, मेसिनरी वाल, ड्रेन, आरसिसी ढलान, ग्राभेल र माटो फिलिङलगायतका काम भइरहेको छ ।

धाप्लाङघाटदेखि बिचशङ्खे–खाकरगैरासम्मको सडक स्तरोन्नति गर्न ६२ प्रतिशत सम्पन्न भइसकेको जनाइएको छ । सडक स्तरोन्नतिको काम २०८१ वैशाख मसान्तसम्ममा सक्नेगरी ठेकेदार कम्पनीले गत पुस ८ गते ठेक्का सम्झौता गरेको थियो ।

मूल्य अभिवृद्धि करसहित एक करोड ७२ लाख ४१ हजार २४४ रुपैयाँमा ठेक्का लिएको ठेकेदार कम्पनीले रनिङ बिलमार्फत गत माघ १५ गते एक करोड छ लाख ९७ हजार ६२३ भुक्तानी लिइसकेको गाउँपालिकाले जनाएको छ ।

ढलानको काम भइरहेको यो सडकखण्ड फागुन मसान्तभित्र सम्पन्न गर्नेगरी काम अघि बढाएको स्थानीयस्तरमा निर्माणको जिम्मा लिएको सुन्तले कन्ट्रक्सन एण्ड सप्लायर्स प्रालि बराहपोखरीका प्रबन्ध निर्देशक कृष्णप्रसाद बञ्जराले जानकारी दिनुभयो ।

यस्तै संघीय सरकारसँगको लागत साझेदारीमा शुरु गरिएको सोही सडकको चेकेथुमखण्ड स्तरोन्नतिको काम ९० प्रतिशत सम्पन्न भएको गाउँपालिकाले जनाएको छ । मूल्य अभिवृद्धि करसहित ७७ लाख ११ हजार ९४० रुपैयाँमा सक्नेगरी निर्माण कम्पनीले चेकेथुमखण्डको सडक स्तरोन्नतिको काम लिएको हो ।

निर्माणाधीन दुवै खण्डको सडक तोकिएको मितिमा सम्पन्न गर्न तथा गुणस्तर निर्धारणमा खबरदारी गर्ने काम भइरहेको गाउँपालिकाले जनाएको छ ।

२०७६ असार २९ गतेभित्र सम्पन्न गर्नेगरी २०७३ असार ३० गते रसुवा–एसएनएस–पप्पु जेभी निर्माण कम्पनीले धाप्लाङघाट पुल निर्माणको जिम्मा लिएको थियो । वेल फाउण्डेसन प्रविधिको मोटरेबल पुल निर्माण शुरु गरिएको धाप्लाङघाटमा ढाँचा परिवर्तन गरेर पाइल फाउण्डेसन प्रविधिको पुल निर्माण शुरु गरिएको हो ।

भ्याटबाहेक २२ करोड ५० लाख रुपैयाँमा सम्पन्न गर्ने गरी सम्झौता गरिएको पुलको दुईवटा पिलर तथा बीच भागमा एउटा वेलमात्र निर्माण गरिएको छ । ठेक्का सम्झौता भएको सात वर्षपछि ‘डिजाइन’ परिवर्तन गरिएको पुलको लम्बाइ २०० मिटर लामो छ ।

निर्माणको जिम्मा लिएका ठेकेदार कम्पनीको लापारवाहीले तोकिएको समयमा मोटरेबल पक्की पुल नबन्दा दुई जिल्लाबीच यातायात सञ्चालन हुन सकेको छैन ।