
काठमाडौं । देशमा हुकुमी जहानियाँ शासनको अन्त्य भइ जनतामा अधिकार रुपान्तरण भएको दिनको सम्झनामा आज विविध कार्यक्रम गरी ७४औं प्रजातन्त्र दिवस मनाइँदैछ ।
प्रजातन्त्र दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको छ । उक्त कार्यक्रमलाई संवोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले लोककल्याणकारी सामाजिक न्याययुक्त समाजवादी राज्य निर्माणको अभियानमा समाहित हुन सबैमा अपिल गर्नुभएको छ ।
प्रधानमन्त्री दाहालले नेपाली माटो सुहाउँदो समाजवादी राष्ट्र निर्माणका लागि आह्वान पनि गर्नुभयो । उहाँले आधुनिक नेपालको शासकीय स्वरूपको जग नै विभिन्न चरणका संघर्ष र क्रान्तिको श्रृंखला भएको पनि बताउनुभयो ।
प्रधानमन्त्री दाहालले संविधानको प्रस्तावनामा समाजवाद उन्मुख राज्य निर्माणको संकल्प गरिएकाले प्राप्त अधिकारको रक्षा र सुदृढीकरणसहित थप अधिकारका निमित्त अगाडि बढ्ने ढोका खुला रहेको पनि बताउनुभयो ।
यसैबिच सैनिक मञ्चमा आयोजना गरिएको कार्यक्रममा पत्रकारलाई प्रवेश नदिएपछि विरोध भएको छ । समाचार संकलनका लागि पुगेका पत्रकारहरुलाई गेटमै रोकेपछि उनीहरुले क्यामेरा डाउन गरेर सांकेतिक विरोध गरेका हुन् ।
सूचना विभागको पासका आधारमा प्रवेश नदिइने र समाचार संकलनका लागि विशेष प्रवेश पास लिनुपर्ने भन्दै प्रवेशमा रोक लगाइएको पत्रकारहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्