२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यू आदेश


1.417k
Shares

काठमाडौं । रौतहटको ईशनाथ नगरपालिकामा सरस्वती पूजाको मूर्ति सेलाउने विषयमा भएको झडपलाई लिएर भइरहेको विरोधले तनाव सिर्जना भएपछि वीरगञ्जमा पनि कर्फ्यू आदेश जारी भएको छ ।

गत बिहीबार भएको घटनापछि रौतहटमा शनिबारदेखि लगाइएको कर्फ्यू अझैसम्म निरन्तर छ ।

घटनाको विरोधमा सर्वसाधारण विभाजित भएर प्रदर्शनमा उत्रिन थालेपछि सोमबार साँझ ५ बजेदेखि वीरगञ्जमा पनि कर्फ्यू लगाइएको हो ।

प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले बेलुका ५ बजेदेखि अनिश्चितकालका लागि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम कर्फ्यू आदेश जारी गर्नुभएको हो ।

तत्काललाई वीरगञ्ज महानगरपालिकाको पूर्वमा नगवा चोक, पश्चिममा तिलावे पुल, उत्तरमा परवानीपुर र दक्षिणमा मितेरीपुलसम्म कर्फ्यू आदेश जारी भएको छ । उक्त क्षेत्रमा आवतजावत गर्न, भेला हुन, बाहिर हिँडडुल गर्न, जुलुश प्रदर्शन गर्न, घेराउ वा ¥याली गर्न एवम् कुनै पनि प्रकारको उच्छृङ्खल गतिविधि गर्न बन्देज लगाइएको छ ।

गत बिहीबार रौतहटको ईशनाथ नगरपालिकाको मोतिपुरमा दुई पक्षबीच विवाद र झडप भएको बिषयलाई लिएर सोमबार वीरगञ्जमा पनि सर्वसाधारणले विरोध जुलुस निकालेका थिए । त्यसक्रममा दुई पक्षबीच विवाद र झडपको स्थिति बनेको थियो । स्थिति नियन्त्रणमा लिन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गर्नुपरेको थियो ।

सर्वसाधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिम एवम् शान्ति भंग हुन जाने स्थिति देखिएकाले कर्फ्यू लगाइएको प्रमुख जिल्ला अधिकारी भुसालले जनाउनु भएको छ ।