
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी आवधिक निर्वाचनमा निर्वाचनपूर्वको गठबन्धन गर्नु नहुने प्रस्ताव गर्नुभएको छ ।
मंगलबार महासमितिको बैठकमा सांगठनिक प्रतिवेदन पेस गर्दै महामन्त्री थापाले आगामी आवधिक निर्वाचनमा निर्वाचनपूर्वको गठबन्धन गर्ननहुने प्रस्ताव अघि सार्नुभएको हो ।
महामन्त्री थापाले यस महासमिति बैठकले भविष्यमा हुने आवधिक निर्वाचनहरु आफ्नै तागतमा एक्लै लड्ने संकल्प गर्नुपर्ने बताउनुभयो । उहाँले मतदातालाई नेपाली कांग्रेसको चुनाव चिन्ह रुखमा नै मत हाल्न पाउने अवस्था सुनिश्चित गर्नुपर्ने बताउनुभयो । उहाँले संगठनलाई थप ऊर्जाशिल बनाउँदै आम जनताको मत र विश्वास बढाएर नेपाली कांग्रेसले एक्लै बहुमत ल्याउनसक्ने पार्टीको रुपमा पुनःस्थापित गर्नुपर्नेमा जोड दिनुभयो ।
महामन्त्री थापाले विगतमा पाँच वर्षको लागि गठबन्धनसहित मत मागेकोले सो अवधिसम्म जनतासँगको वाचा र अन्य साझेदार दलहरुसँगको सम्झौता बमोजिम राजनीतिक इमान्दारिता प्रदर्शन गर्नुपर्नेमा पनि कांग्रेस सचेत रहेको बताउनुभयो ।
उहाँले २० बुँदे सांगठनिक सुधारको कार्ययोजना समेत प्रस्तुत गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्