२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


राप्रपाका मागलाई उपेक्षा गरे बिद्रोहमा परिणत हुन्छ : अध्यक्ष लिङ्देन


936
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले राप्रपाका मागलाई सरकारले उपेक्षा गरे बिद्रोहमा परिणत हुने चेतावनी दिनुभएको छ ।

बुधबार ४० बुँदे ज्ञापनपत्र सिंहदरबारमा प्रधानमन्त्रीलाई बुझाउँदै जनदबाबका कार्यक्रमको शुभारम्भ गर्दै अध्यक्ष लिङ्देनले यस्तो बताउनुभएको हो ।

अध्यक्ष लिङ्देनले औपचारिक रुपमा जनदबाबका कार्यक्रम सुरु गरेको बताउनुभयो । उहाँले ज्ञापन पत्रमा देशको समसामयिक राजनीति र परिस्थितिको बारेमा उल्लेख गरिएको बताउनुभयो । उहाँले देश धेरै नै बिग्रिसकेको बताउँदै अब यही अवस्थामा रहिरहन नसक्ने जिकिर गर्नुभयो ।

अध्यक्ष लिङ्देनले देशलाई नविन सम्झौता गरेर अघि बढाउन आवश्यक रहेको बताउनुभयो । उहाँले सबैले स्थान पाउने गरी अघि बढ्न ज्ञापन पत्रमा सुझाव दिएको बताउनुभयो । उहाँले अभिभावकीय संस्थाको रुपमा राजसंस्था, सर्वधर्मसमभावपूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन धर्म सापेक्ष हिन्दुराष्ट्र हुनुपर्ने आफूहरुको माग रहेको बताउनुभयो ।

अध्यक्ष लिङ्देनले धर्मान्तरणलाई निषेध गर्नुपर्ने, जनप्रतिनिधिको संख्यामा कटौति गर्नुपर्ने, प्रदेश तह खारेज गर्नुपर्ने बताउनुभयो । उहाँले बैंकको ब्याज एकल अंकमा झार्नुपर्ने सुझाव दिएको पनि बताउनुभयो । उहाँले राप्रपाका मागप्रति प्रधानमन्त्री सकारात्मक रहेको बताउनुभयो ।

अध्यक्ष लिङदेनले ललितानिवास जग्गा प्रकरण, सुन काण्ड, नक्कली भूटानी शरणार्थी प्रकरण, बाइडबडी लगायतका भ्रष्टाचार प्रकरणमा पुनः र पूर्ण छानबिन गर्न माग गरेको बताउनुभयो ।