
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले मिटरव्याजी र सहकारी पीडितका समस्या तत्काल समाधान गर्न सरकारसँग आग्रह गरेको छ ।
बिहीबार पार्टी केन्द्रिय कार्यालय च्यासलमा सम्पन्न केन्द्रिय कमिटीको बैठकका निर्णय सार्वजनिक गर्दै एमालेले मिटरव्याजी र सहकारी पीडितका समस्या तत्काल समाधान गर्न सरकारसँग आग्रह गरेको हो ।
बैठकका निर्णय सुनाउँदै पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले गठबन्धन सरकारले चलाएको कुशासन, बेथितिले गर्दा राज्य हरेक हिसावले संकटग्रस्त बन्दै गएको ठहर पार्टीले गरेको पनि बताउनुभयो । उहाँले गठबन्धनले देश बन्छ भन्ने आत्मविश्वासमा ठेस पु¥याएको पनि एमालेको निस्कर्ष रहेको बताउनुभयो ।
उपमहासचिव ज्ञवालीले देशलाई संकटबाट मुक्त गर्न नेकपा एमालेले निर्णयक भुमिका खेल्ने बताउनुभयो । उहाँले सरकारका गलत कामहरु र सरकारले चलाएको तस्करी र भ्रष्टाचारमार्फत खोलेको अर्को अनियमितता कारण देश गहिरो आर्थिक मन्दीमा फस्दै गएको ठहर एमालेको रहेको पनि बताउनुभयो । उहाँले तस्करी र भ्रष्टाचारमा मन्त्रीहरु नै मुछिए पनि कारबाही गर्न नसकेको, छानबिन आयोगले दोषी देखाउँदा पनि राजीनामा नदिने मन्त्रीहरुलाई बर्खास्ती गर्न नसकेको बताउनुभयो ।
उपमहासचिव ज्ञवालीले सरकारले १० लाखमा नागरिकको जीवन साट्ने काम गरेको बताउनुभयो । उहाँले महंगी, मिसावटका बारेमा सरकारको ध्यानाकर्षण गराउने निर्णय भएको पनि बताउनुभयो । उहाँले सरकारको अकर्मण्यताका कारण भूकम्प पीडितले राहत नपाएर ज्यान गुमाउनुपरेकाले सरकारले विशेष महत्व दिन आवश्यक रहेको बताउनुभयो ।
पार्टीले सडक दुर्घटना बढ्दासमेत सरकारले चासो नदिएको, शिक्षा क्षेत्रमा सरकारको हस्तक्षेप उदांगो भएको, सरकार कुटनीतिक मामिलामा चुकेको निस्कर्ष पार्टीको रहेको पनि बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्