
दिपक श्रेष्ठ र गृष्मा राजभण्डारी
काठमाडौं । नेपाली सुगम संगीतको बेजोड आवाज अब सदाका लागि विलिन भएको छ ।
बुबा बलभद्र र आमा रेनुकाको कोखबाट वि.सं. १९९९ साल असोज १६ गते धनकुटामा जन्मिनु भएका भक्तराज आचार्यले वि.स. २०३० सालदेखि २०४६ सालसम्मको सांगितिक यात्राका क्रममा ४५० वटा जति कालजयी गीत दिनुभएको थियो । गायन र संगीतमा अब्बल आचार्यले २५–३० वटा गीत रचना समेत गर्नुभएको थियो ।
भजन शिरोमणिको उपनामले परिचित उहाँ गायक र संगीतकार मात्र नभई नेपालमा सर्वकालिक महान गायक हुनुहुन्थ्यो । वि.सं २०२५ सालपछि दार्जिलिङका गायकहरू नेपाल आउने क्रममा आमासँग कालिम्पोङमा बस्दै आउनु भएका आचार्य पनि नेपाल आउनु भएको हो ।
वि.सं २०३० सालमा रेडियो नेपालले आयोजना गरेको अखिल नेपाल गीत प्रतियोगितामा स्वर्ण पदक जितेपछि आचार्यको गायक यात्रा सुरु भएको थियो । आचार्यको ’होसियार यसबखत समयको मुखलाई चिन”.बोलको गीत निकै नै चर्चित बन्यो । प्रतियोगितामा प्रथम भएपछि रेडियो नेपालमा जागिर पाएका आचार्यले त्यसपछि वि.सं. २०४६ सालसम्ममा साढे चार सय गीत रेकर्ड गर्नुभएको थियो ।
जसमा दुई दर्जन गीत उहाँका आफ्नै रचनामा तयार पारिएका थिए । डेढ वर्षको उमेरमै बुबा गुमाएपछि आमाको ममतामा हुर्किएका आचार्यको सांगितिक मोडमा तीसको दशकपछि नयाँ मोड आएको थियो । उहाँले पाएका सम्मानको कुरा गर्ने हो भने गणना गरेर साध्य छैन । त्यसमाथि पनि २०५० सालमा दिइएको पद्यश्री साधना सम्मान बिशेष रहँदा २०७८ सालमा भजन शिरोमणि सम्मान उहाँको जीवनका लागि अर्को महत्वपुर्ण सम्मान हो । अधिकांश भजन तथा आधुनिक, गजल, राष्ट्रिय गीत, बालगीत, कोएर, ब्यालेट, कविता गायन र चलचित्रको पाश्र्व गायन समेत उहाँले गर्नुभएको थियो ।
वि.सं. २०४६ सालको एक साँझ बौद्धमा सांगितिक कार्यक्रममै हमला भएपछि भक्तराजको टाउकोमा झन्डै सयभन्दा बढी टाँका लगाउनु परेको थियो । सोही आक्रमणमा उहाँको जिब्रोमा समेत चोट लागेको थियो भने त्यही चोटको घाउ बल्झिँदा उहाँले जिब्रो सदाका लागि गुमाउनु प¥यो । त्यसपछि उहाँको गायन यात्रामा पनि पूर्णविराम लाग्यो ।
स्वर्गीय आचार्यका दुई पुत्र सत्यराज र स्वरूपराज पनि नेपाली सुगम संगीतमा स्थापित नक्षत्र हुन् । नेपालको सांगितीक जगतमा नितान्त फरक छाप छोड्न सफल आचार्यको निधनबाट नेपालको सांगितिक क्षेत्रमा अपुरणीय क्षति पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्