
ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिका वडा नम्बर १ को वडा कार्यालय भवन उद्घाटन गरिएको छ ।
बुधबार महालक्ष्मी नगरपालिकाका नगर प्रमुख हरि गोविन्द श्रेष्ठ र उपप्रमुख लक्ष्मी महर्जनले संयुक्त रुपमा भवनको उद्घाटन गरेका हुन ।
महालक्ष्मी नगरपालिकामा स्थानीय तहको दोस्रो निर्वाचनमा निर्वाचित नेतृत्वले नगरपालिकाका सबै वडा कार्यालयहरु बनाउने अभियान चलाई रहेको छ ।
त्यही क्रममा बुधबारदेखि वडा नम्बर १ ले सम्पूर्ण काम आफ्नै भवनबाट वडावासीलाई सेवा दिन शुरु गरेको हो । भवन उद्घाटन गर्दै नगरप्रमुख श्रेष्ठले नगरपालिकाले १० वटै वडाको आफ्नै भौतिक संरचना बनाउने अभियानमा रहेको बताउनुभयो । उहाँले वडा नम्बर ४ बाहेक अधिकांश वडा भवन निर्माणको अन्तिम चरणमा पुगेको बताउनुभयो । नगरप्रमुख श्रेष्ठले वडा कार्यालयहरु व्यवस्थित बनाएर वडा तहको कार्य सम्पादन व्यवस्थित बनाउने प्रतिवद्धता जनाउनुभयो । उहाँले वडाको आफ्नै भवन नहुँदा वडाको लागत खर्च बढी रहेको बताउनुभयो ।
उपप्रमुख महर्जनले व्यवस्थित वडा भवनहरु निर्माण हुँदा कर्मचारी र सेवाग्राही सबैलाई सहज हुने बताउनुभयो । उहाँले वडाबाट नागरिकले लिने सेवा सहजताको लागि वडाको आफ्नै भवन उद्घाटन गरी सेवा सुरु गर्दा खुसी लागेको बताउनुभयो ।त्यसैगरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेलले नगरवासीलाई सहज रुपमा सेवा प्रवाह गर्न कर्मचारीहरु दत्तचित्त भएर लागेका र नगरवासीले कुनै पनि झण्झट बेगर सेवा पाउन सकुन भन्नेतर्फ सतर्क रहेको बताउनुभयो ।
त्यस्तै, वडा नम्बर १ का वडा अध्यक्ष छिरिङ लामाले नगरपालिको सहयोगले वडाबासीलाई सहज रुपमा वडाले दिने सेवा दिनको लागि आफ्नै भवन बनाउन सफल भएको बताउनुभयो । उहाँले वडा भवनमा पहिलो तलामा प्राथमिक उपचार कक्ष सञ्चालन गरिने र बाँकी वडा कार्यालयको लागि प्रयोग गरिने बताउनुभयो । उहाँले वडाको विकासको लागि व्यवस्थित कार्य सम्पादन हुने प्रतिवद्धता जनाउनुभयो ।
पुरानो सामुदायिक भवनलाई आवश्यक मर्मत र थप व्यवस्थित गरेर सानो ठाउँमा रहेको वडा कार्यालयले आफ्नै भवनबाट सेवा सुरु गरेको हो । भवन मर्मतको लागि करिब ७२ लाख रुपैयाँ खर्च भएको वडा नम्बर १ कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्