२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


राप्रपाले संसद सचिवालयमा दर्ता गर्‍यो जरुरी सार्वजनिक महत्वको प्रस्ताव


442
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले रसिया र युक्रेनको युद्धमा नेपालीहरुलाई सहभागि गराइएको भन्दै सो विषयमा प्रतिनिधि सभामा छलफल गर्न जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेको छ ।

राप्रपाले प्रमुख सचेतक ज्ञानबहादुर शाही प्रस्तावक र सांसदहरु बिना लामा, अनिशा नेपाली र विना जैसवाल समर्थक रहेर रसिया र युक्रेन बीचको युद्धमा नेपालीहरु सहभागि गराइएको भन्दै प्रतिनिधि सभामा छलफलका लागि जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेको हो ।

बिहीबार संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेय समक्ष पुगेर जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरिएको हो । प्रस्तावमा नेपालीहरुलाई आर्थिक प्रलोभनमा पारी रसिया र युक्रेन युद्धमा सहभागि गराइएको उल्लेख गरिएको छ ।

मानव तस्करी गरी युद्ध स्थलमा नेपालीलाई पठाएकाले यो विषयमा सरकारलाई ध्यानाकर्षण गराउँदै नेपालीहरुको ज्यान बचाउनका लागि जरुरी सार्वजनिक प्रस्ताव पेश गरिएको प्रमुख सचेतक ज्ञानबहादुर शाहीले बताउनुभयो । उहाँले युद्ध भूमिमा फसेकाहरुलाई तत्काल उद्धार गर्न अत्यावश्यक भएको पनि बताउनुभयो ।

संघीय संसद सचिवालयका महासचिव पाण्डेयले यस प्रस्तावलाई छिटोभन्दा छिटो प्रक्रियामा लैजाने बताउनुभयो ।