२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


सुदूरपश्चिममा माओवादीले फिर्ता लियो समर्थन


1.846k
Shares

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारबाट माओवादी केन्द्रले आफ्नो समर्थन फिर्ता लिने निर्णय गरेको छ । आज संसदीय दलको कार्यालयमा बसेको संसदीय दलको बैठकले कांग्रेस नेतृत्वको सरकारलाई लिएको समर्थन फिर्ता लिने निर्णय गरेको माओवादी संसदीय दलका नेता मनबहादुर धामीले जानकारी दिनुभयो ।

मुख्यमन्त्री कमल बहादुर शाहले मंगलबार माओवादीका दुई मन्त्री र एक राज्यमन्त्री बर्खास्त गरेपछि आज बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

मुख्यमन्त्री शाहले माओवादीबाट सामाजिक विकास मन्त्री भएका झपट साउद, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा नियुक्त भएका रमेश धामी र राज्य मन्त्री गीता माललाई हटाएको थियो ।

सुदूरपश्चिममा माओवादीका सभामुखसहित ११ सांसद छन् । माओवादीले समर्थन फिर्ता लिँदा पनि सरकार भने बहुमतमै रहेको छ । अहिलेसम्म कांग्रेस सहित नागरिक उन्मुक्ति पार्टी र नेकपा एकीकृत समाजवादीको समर्थन कांग्रेस नेतृत्वको सरकारलाई छ । यहाँ कांग्रेसका १८, नागरिक उन्मुक्तिका ७ र नेकपा एकीकृत समाजवादीका ४ सांसद छन् ।

सुदूरपश्चिममा सरकार बनाउन २७ सांसद आवश्यक पर्छ । यहाँका मुख्यमन्त्री कमलबहादुर शाहसँग कांग्रेस बाहेक अन्य दुई दलले समर्थन फिर्ता नलिँदासम्म २९ सांसदको समर्थन देखिन्छ ।