२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


नेपाली फुटबल विकासमा सहकार्यका लागि ला लिगा उत्साहित


2.327k
Shares

काठमाडौं । स्पेनका लागि नेपाली राजदूत सर्मिला पराजुली ढकाल र स्पेनिस ला लिगाका अध्यक्ष हाभियर टेबास मेड्रानो बीच नेपाली फुटबलमा सहकार्यको विषयमा छलफल भएको छ ।

भेटमा ला लिगाका अध्यक्ष मेड्रानोले खेलकुदको माध्यमबाट नेपाल र स्पेनलाई जोड्ने राजदूत ढकालको प्रयासको प्रशंसा गर्दै नेपाली फुटबल विकासका लागि सहकार्य गर्ने प्रस्ताव राखेका थिए ।

मड्रिडस्थित ला लिगाको मुखयालयमा मंगलबार झण्डै एक घण्टा भएको भेटका क्रममा राजदूत ढकालले ला लिगाका अध्यक्ष मेड्रानोलाई नेपाल भ्रमणको निम्तो दिएकी थिइन् ।

राजदूत ढकालका अनुसार भेटमा नेपालमा ला लिगाको सहयोगमा एकेडेमी बनाउने तथा नेपाली फुटबललाई प्राविधिक रुपमा सशक्त बनाउन सहकार्य गर्ने विषयमा छलफल भएको थियो ।

नेपालमा स्पेनिस फुटबलको ‘फ्यान बेस’ निक्कै राम्रो भएको कारण पनि ला लिगा सहकार्यका लागि उत्साहित भएको राजदुत ढकालको बुझाई छ ।

भेटका क्रममा ला लिगाका अध्यक्ष मेड्रानोले भौगोलिक रुपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदका लागि निक्कै राम्रो ठाउँ भएको बताउँदै निकट भविश्यमै सहकार्यको थालनी गरिने बताएका थिए । सो क्रममा अध्यक्ष मेड्रानोले राजदुत ढकाललाई ला लिगाको आधिकारिक बल उपहार दिएका थिए ।

स्पेनस्थित नेपाली राजदूतावासको पहलमा गत वर्ष त्यहाँको दोस्रो डिभिजनको क्लब कासेरेन्यो एफसीले दुई मैत्रीपूर्ण खेलका लागि नेपाल भ्रमण गरेको थियो ।