
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ग्याल्पो ल्होसारका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले शेर्पा समुदायको पर्व ग्याल्पो ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त गर्नुभएको हो ।
राष्ट्रपति पौडेलले शुभकामना व्यक्त गर्दै ग्याल्पो ल्होसारजस्ता पर्वले नेपालीबीच एकता, सामाजिक साँस्कृतिक ऐक्यवद्धता, सहिष्णुता, सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि हुने बताउनु भएको छ ।
यसैगरि प्रधानमन्त्री पुष्पकमल दाहालले पनि ग्याल्पो ल्होसारका अवसरमा आज शुभकामना दिनुभएको छ । उहाँले आन्तरिक राष्ट्रिय एकता सुदृढ गर्दै राष्ट्रिय स्वाधीनता, सुशासन, सामाजिक न्याय र समृद्धिको लक्ष्य हासिल गर्नु राष्ट्रिय कार्यभार भएको बताउनुभएको छ ।

प्रधानमन्त्री दाहालले ग्याल्पो ल्होसारका माध्यमबाट आन्तरिक राष्ट्रियता, आपसी सद्भाव, सहिष्णुता, सहकार्य र एकता थप सुदृढ गर्ने विश्वास पनि व्यक्त गर्नुभएको छ । उहाँले ग्याल्पो ल्होसार प्राचीन उत्पादन पद्धतिमा आधारित मौलिक एवं ऐतिहासिक पर्व भएको शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ ।
नेपालको हिमाली क्षेत्रका साथै विभिन्न स्थानमा बसोबास गर्ने आदिवासी शेर्पालगायत महायान बौद्ध धर्मावलम्बी समुदायले फाल्गुन शुक्लपक्ष प्रतिपदाका दिन नयाँ वर्षका रूपमा ग्याल्पो ल्होसार मनाउने गर्दछन् ।
प्रतिक्रिया दिनुहोस्