
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित नवनिर्मित एक्स्ट्राटेक ओभल मैदानसम्म पुग्ने सडक निर्माणका लागि सरकारबाट बजेट विनियोजन गर्न पहल गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।
सोमबार नवनिर्मित एक्स्ट्राटेक ओभल मैदानको उद्घाटनका अवसरमा कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले यस्तो प्रतिवद्धता जनाउनुभएको हो ।
उपाध्यक्ष पौडेलले मैदानबाट हाइवेसम्म कालोपत्रे सडक निर्माण गर्न तिलोत्तमा नगरपालिकासँग सहकार्य गरेर आफूले काम गर्ने बताउनुभयो । उहाँले मैदानका लागि गुणस्तरीय ट्रान्सफर्मर बनाइदिने कुरामा पनि जनप्रतिनिधिहरु मिलेर सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले जनप्रतिनिधिको काम धेरै भाषण गर्ने भन्दा काम गरेर देखाउने रहेको बताउनुभयो ।
गत ३० जेठमा निर्माणको शिलान्यास भएको रंगशाला ८ महिनापछि मैदानको निर्माण कार्य सम्पन्न भएको हो । ४० करोड रुपैयाँभन्दा बढी लगानीमा एक्स्ट्राटेक ओभल रंगशालाको निर्माण गरिएको हो । गुल्मीका विनोद कुँवरको निजी लगानीमा बनेको रंगशालको उद्घाटन आज लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले गर्नुभएको हो ।
प्रतिक्रिया दिनुहोस्