२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


सत्तारुढ गठबन्धनका उम्मेदवारलाई मतदान गर्न शीर्ष नेताहरुको अपिल


416
Shares

काठमाडौं । सत्तारुढ दलका शीर्ष नेताहरुले राष्ट्रिय सभा अध्यक्षका लागि गठबन्धनका साझा उम्मेदवार नारायणप्रसाद दाहाललाई मतदान गर्न सांसदहरुलाई अपिल गरेका छन् ।

मंगलवार नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बसेको गठबन्धनका सांसदहरुको बैठकमा बोल्दै पार्टीका शीर्ष नेताहरुले साझा उम्मेदवार दाहाललाई मतदान गर्न अपिल गरेका हुन् ।

बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री तथा नेकपा(माओवादी केन्द्र)का संसदीय दलका नेता पुष्पकमल दाहाल, नेकपा(एमाले)का अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओली, नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष तथा संसदीय दलका नेता माधवकुमार नेपाल र जनता समाजवादी पार्टी, नेपालका राष्ट्रिय सभा सदस्य मृगेन्द्रकुमार यादवले गठबन्धनको साझा उम्मेदवारलाई मतदान गरी विजयी गराउन आग्रह गर्नुभएको नेकपा(माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष तथा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

बैठकमा प्रधानमन्त्री दाहालले सामाजिक, आर्थिक रुपान्तरण र समृद्धिको कार्यभारलाई पूरा गर्न अघिल्लो सरकारले गति लिन नसकेका कारण सरकार पुनःगठन गर्नुपरेको बताउनुभएको पनि मन्त्री श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो – ‘सहकार्यमा रहेका पार्टीका नेताहरुले अध्यक्षको निर्वाचनमा एकतावद्ध भएर आफ्ना साझा उम्मेदवार नारायण दाहालको पक्षमा मतदान गर्न अपील गर्नुभयो । त्यसको साथसाथै यो सरकार खालि सरकार बनाउनको निम्ति मात्रै पुनःगठन गरिएको होइन । यो सरकार निश्चित उद्देश्यको साथ पुनःगठन गरिएको हो । विशेषतः अहिलेको मुख्य कार्यभार भनेको सामाजिक, आर्थिक रुपान्तरण र समृद्धिको कार्यभारलाई पूरा गर्न यसअघि बनेको सरकारमार्फत प्रयत्न गर्दाखेरी तिब्रतापूर्वक गति लिन नसकेको कारणले गर्दाखेरी त्यही उद्देश्यलाई केन्द्रबिन्दुमा राखेर यो सरकार पुनःगठन गरिएको भनेर नेताहरुले भन्नुभयो । त्यही राष्ट्रिय कार्यभारलाई पूरा गर्नको निम्ति राष्ट्रिय सभाको निर्वाचनमा पनि राष्ट्रिय सभालाई सही ढंगले सञ्चालन गर्न हाम्रो साझा उम्मेदवार दिएका छौँ ।’ उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो ।

राष्ट्रिय सभाको आजको बैठकमा राष्ट्रिय सभा अध्यक्ष पदका लागि निर्वाचन हुँदैछ । सत्तारुढ गठबन्धनका साझा उम्मेदवार नारायणप्रसाद दाहाल र नेपाली काँग्रेस र लोकतान्त्रिक समाजवादी पार्टीका साझा उम्मेदवार युवराज शर्माका बीचमा प्रतिष्पर्धा हुँदैछ ।