
काठमाडौं । राष्ट्रिय सभाको अध्यक्षमा माओवादी केन्द्रका सांसद नारायणप्रसाद दाहाल निर्वाचित हुनुभएको छ । नेपाली कांग्रेसका उम्मेदवार युवराज शर्मालाई हराउँदै उहाँ राष्ट्रिय सभा अध्यक्षमा भारीमतसहित निर्वाचित हुनुभएको हो । राष्ट्रिय सभा अध्यक्षमा निर्वाचित दाहाल प्रधानमन्त्री पुष्पकमल दाहालका भाई बाहेक के छ त उहाँको राजनीतिक योगदान ।
२०१२ साल फागुन १२ गते जन्मिनुभएका नारायणप्रसाद दाहाल राष्ट्रिय सभा अध्यक्षमा निर्वाचित हुनुभएको छ । सत्तागठबन्धनको तर्फबाट उम्मेदवार बन्नुभएका माओवादी नेता दाहालले ५९ सदस्यीय राष्टिय सभामा हाल कायम रहेका ५८ सदस्यको दुईतिहाइ अर्थात ३९ मत प्राप्त गर्नुभयो । उहाँ २०७८ साल चैत्रमा मन्त्रिपरिषद्को सिफारिसमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीबाट राष्ट्रिय सभा सदस्यमा मनोनित हुनुभएको थियो । अध्यक्षको कार्यकाल छ वर्ष हुने भएपनि उहाँको राष्टियसभा सदस्यको कार्यकाल चार वर्ष मात्रै बाँकी रहेकाले उहाँ अब चार वर्ष मात्रै अध्यक्ष रहनुहुनेछ ।
हाल चितवनको भरतपुरमहानगरपालिका वडा नम्बर १४ भिमसेननगर स्थायी बसोबास भएका दाहालको शैक्षिक योग्यता स्नातक रहेको छ । २०२७ सालदेखि विद्यार्थी राजनीतिमा सक्रिय भएपनि उहाँ २०३२ सालबाट राजनीतिक दलमा अबद्ध हुनुभयो भने २०३५ सालमा पार्टी सदस्य बन्नुभएको थियो । २०३६ सालदेखि पूर्णकालिन राजनीतिमा लागेका दाहाल २०५७ सालदेखि हालसम्म माओवादी पार्टीको केन्द्रीय सदस्य भएर काम गरिरहनुभएको छ ।
१० वर्षे लामो सशस्त्रद्वन्द्व पश्चात माओवादी शान्तिपक्रियामा आएपछि दाहाल २०६३ को अन्तरिम व्यवस्थापिका संसदको सदस्य बन्नु भएको थियो । २०६४ को संविधानसभा सदस्य निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाट निर्वाचित उहाँ २०७० को निर्वाचन सोही क्षेत्रमा पराजित हुनुभएको थियो । संघीय संसदको सार्वजनिक लेखा समिति सदस्य भएर ४ वर्ष काम गरेका उहाँ प्रधानमन्त्री दाहालकोे सल्लाहाकार पनि रहिसक्नुभएको छ । लामो समयदेखि सक्रिय राजनीतिमा रहेपनि दाहाल पार्टीमा अरु नेता भन्दा सँधै पछि नै रहनुभएको उहाँका समकालीनहरुको भनाइ छ ।
पछिल्लो समयमा नयाँ गठबन्धन भएपछि एक्कासी उहाँको नाम अरु दुइ जना नेतासँगै अध्यक्षको उम्मेदवारको रुपमा आयो । र, अन्तत उहाँ सत्ता गठबन्धनको तर्फबाट निर्वाचित हुनुभयो । राष्ट्रिय सभाको अध्यक्ष निर्वाचित भएपछि निकै प्रसन्न देखिनुभएका दाहालले राष्ट्रिय सभाको गरिमालाई उच्च बनाउने गरि आफुले काम गर्ने प्रतिक्रिया दिनुभएको छ ।
राष्ट्रिय सभा अध्यक्ष बन्ने चर्चासँगै प्रधानमन्त्री दाहालको भाइ भएको कारण अवसर पाएको चर्चा पनि चुलिएको छ । उहाँ प्रधानमन्त्री दाहालका सहोदर भाइ नभएपनि एकै परिवार भित्रका भाइ भएकाले यो विषयले चर्चा पाउनु स्वाभाविक हो । अब अध्यक्षको रुपमा निष्पक्ष भूमिका निर्वाह गरेर परिवारवादको आक्षेपबाट मुक्ति पाउनु उहाँका लागि परीक्षाको विषय बनेको छ ।
प्रतिक्रिया दिनुहोस्