८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


वर्तमान सत्ता गठबन्धन नेपाली काँग्रेसको विश्वासघातको जगमा खडा छ : प्रधानमन्त्री दाहाल


741
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सत्ता गठबन्धन नेपाली काँग्रेसको विश्वासघातको जगमा खडा भएको बताउनुभएको छ ।

बुधवारको प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले यस्तो बताउनुभएको हो । आफ्नो आलोचना गर्नेहरुप्रति लक्षित गर्दै उहाँले आफूले सत्ताच्युत हुँदै कहिल्यै शोक गीत गाउँदै नहिँडेको बताउनु भयो । उहाँले आफूले विगतमा पनि देश संकटमा रहँदा प्रतिपक्ष नभइ सरकारकै सहयोगमा लागेको स्मरण गर्नुभयो ।

‘मैले अहिले प्राप्त गरेको प्रधानमन्त्री नेपाली काँग्रेसको विश्वासघातको जगमा खडा भएको छ । आज मलाई आलोचना गरिरहने साथीहरुलाई सोध्न चाहन्छु, मैले कहिले शोक गीत त गाउँदै हिँडिन । मैले कहिल्यै त्यस्तो आरोप लगाइन । म अहिले यो पनि सम्झिरहेको छु, त्यो बेला सुशील कोइराला प्रधानमन्त्री हुनुहुन्थ्यो, म प्रतिपक्ष दलको नेता थिएँ । देशभा भूकम्प गयो, ठूलो जनधनको क्षति भयो, म प्रतिपक्ष छैन, अब म नेपाली जनताको पक्षमा छु भनेको थिएँ । मैले बरु राष्ट्रिय सहमतिको आधार तयार पार्न समेत काम गरेको थिएँ ।’ प्रधानमन्त्री दाहालले उहाँले भन्नुभयो ।

प्रधानमन्त्री दाहालले आफूले अहिले पनि राष्ट्रिय सहमतिको आधार तयार पार्ने काम गरेको बताउनु भयो ।

साथै प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले पछिल्लो एक वर्षमा काँग्रेस भित्रका विचार समूहहरुको द्वन्द्वले सरकार र गठबन्धनमा पारेको प्रभावले आफू आजित भएकाले गठबन्धन फेर्नुपरेको बताउनु भयो । उहाँले गठबन्धनमा गरेको परिवर्तन वा समीकरणमा गरिएको परिवर्तनसँगै काँग्रेस भित्रको आन्तरिक एकताको कारक बन्न पाएकोमा आफू सन्तुष्ट रहेको बताउनु भयो ।

उहाँले नेपाली काँग्रेसभित्रको कचिङ्गल सफा भए पनि आफू खुशी हुने बताउनु भयो । उहाँले नेपाली काँग्रेसको समर्थनमा आफू एक पटक मात्रै प्रधानमन्त्री भएको र काँग्रेस नेकपा (माओवादी केन्द्र) को समर्थनमा काँग्रेसबाट दुई पटक प्रधानमन्त्री बनेको बताउनु भयो ।