१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


एक महिनामा पाथीभरामा ५५ लाखभन्दा बढी रकम संकलन


767
Shares

ताप्लेजुङ । पाथीभरा क्षेत्र विकास समिति ताप्लेजुङले पछिल्लो एक महिनामा पाथीभरा मन्दिरबाट संकलन भएको ५५ लाख बढी भेटी रकम जम्मा गरेको छ । फागुन महिनामा पाथीभराबाट संकलन भएको ५५ लाख ७० हजार ८८० रुपैँया विभिन्न बैंकमा जम्मा गरेको क्षेत्र विकास समितिले जनाएको छ ।

फागुनमा जम्मा भएको भेटी रकमबारे बुधबार पाथीभरा क्षेत्र विकास समितिले सार्वजनिक रुपमा जानकारी गराएको हो । समितिले हरेक महिनाको अन्तिम दिन पाथीभरामा संकलित भेटीघाटी सार्वजनिक गर्दै आएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले बताउनुभयो ।

यस्तै पछिल्लो एक महिनामा स्वदेशी तथा विदेशी गरी १७ हजार ९ सय १२ जना तीर्थयात्री पाथीभरा मन्दिरमा पुगेको तथ्यांक समेत समितिले सार्वजनिक गरेको छ । केहि दिन यता मौसम न्यानो भएसँगै पाथीभरामा भक्तजनको आगमन बढेको छ ।

यसैबीच पाथीभरामा संकलन भएको सुनचाँदी लिलाम बिक्री प्रकृयामा रहेको समितिले जनाएको छ । रिफाइन गरिएको १७८ तोला ८२ लाल सुन र ५ हजार २९८ तोला १२ लाल चाँदी बिक्रीको प्रकृयामा रहेको बताइएको छ । गत फागुन २० गते लिलाम बिक्रीको सुचना निकालिएको र बिक्री प्रकृयामा नै रहेको समितिले जनाएको छ ।