२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


विवादास्पद व्यक्ति गृहमन्त्री नियुक्त गरिएको भन्दै काँग्रेसले माग्यो प्रधानमन्त्रीको धारणा


2.015k
Shares

काठमाडौं । नेपाली काँग्रेसका सांसद बद्रीप्रसाद पाण्डेले विवादास्पद व्यक्तिलाई गृहमन्त्री नियुक्त गरिएको भन्दै यसप्रति प्रधानमन्त्रीको धारणा माग गर्नुभएको छ ।

बिहीवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद पाण्डेले अनुसन्धानको दायरामा भएका व्यक्ति गृहमन्त्री भएको भन्दै यसले सरकारप्रति गम्भिर नैतिक प्रश्न उठेको बताउनु भयो । उहाँले सहकारी पीडितहरु आन्दोलनमा उत्रिएको भन्दै आरोपित व्यक्ति नै गृहमन्त्री हुँदा अनुसन्धानमा प्रभावित हुने बताउनु भयो ।

गृहमन्त्री रवि लामिछाने लगानी गर्न नमिल्ने संस्थामा सहकारीको लगानी गरिएको, नमिल्ने शिर्षकमा कर्जा दिएको र सदस्य नभएको व्यक्तिले सहकारीबाट ऋण लिएको सघन आरोपमा घेरिएका भन्दै यस्तो प्रकृतिका अन्य दोषिलाई कसरी कारबाही गर्नुहुन्छ भनि उहाँले प्रश्न समेत गर्नुभयो ।

सांसद पाण्डेले पीडितलाई न्याय दिने अभिभारा र विवादास्पद नियुक्तिको विरोधाभाषमा प्रधानमन्त्रीको धारणा के हो ? भनेर सरकारको धारणा माग गर्नुभयो ।

‘सहकारी पीडितहरु आफ्नो बचतको साँवा, व्याज फिर्ता नपाउने हो भने जस्तोसुकै मुल्य चुकाउन बाध्य भएको उहाँहरु बताइरहनु भएको छ । यस विषम पृष्ठभुमिमा अनुसन्धानको कमाण्ड सम्हाल्नुपर्ने निकायको कमाण्डर गृहमन्त्री नै अनुसन्धानको दायरामा हुनुले एकातिर गम्भिर नैतिक प्रश्न खडा भएको छ भने अर्कोतिर अनुसन्धान नै प्रभावित हुने आशंका बढाएको छ । सहकारीको आदर्श विपरित गर्न नहुने संस्थामा लगानी, दिनु नहुने शिर्षकमा कर्जा, सेयर सदस्य नभएका व्यक्ति, पाउनै नपर्ने व्यक्तिले, पाउनै नपर्ने ऋण प्रवाहको सघन आरोपबाट घेरिएका गृहमन्त्रीले यस्तै प्रकृतिका अन्य दोषीलाई कसरी कानुनी कारबाहीको दायरामा ल्याउनुहुन्छ ? कतै तपाईको पोजिशनलाई रक्षाकवच बनाएर एक, दुई करोडको मात्र अभियोग लागेका तपाईलाई शिखन्डीको भुमिकामा अगाडी सारेर दसौँ अर्बको ठगि गर्ने ठूला माछाहरु उम्काउने प्रपञ्चको जानि नजानि तपाई हतियार त बनिरहनु भएको छैन ? यस गम्भिरता र प्रतिपक्षको जायज प्रश्नलाई प्रधानमन्त्रीले कसरी जवाफ दिनुहुन्छ ?’ सांसद पाण्डेले भन्नुभयो ।

सांसद पाण्डेले प्रधानमन्त्रीले शिघ्र जवाफ नदिएमा नेपाली काँग्रेस संसदमा कठोरतापूर्वक प्रस्तुत हुने बताउनुभयो ।