
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाल विश्वस्तरमै चलचित्र उद्योगका लागि महत्वपूर्ण स्थल भएको बताउनुभएको छ ।
बिहीबार सातौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को उद्घाटन समारोहमा बोल्दै सञ्चारमन्त्री शर्माले यस्तो बताउनुभएको हो ।
सञ्चारमन्त्री शर्माले हिमाल, पहाड र तराईको भौगोलिक विविधताको अनुपम संगम हुनुका साथै प्राकृतिक र सांस्कृतिक हिसाबले विश्वमै समृद्ध मुलुक नेपाल चलचित्र छायांकनका लागि महत्वपूर्ण स्थल भएको बताउनुभयो । उहाँले सिंगो नेपाल फिल्म निर्माताहरुका लागि स्टुडियो भएको बताउनुभयो ।
सञ्चारमन्त्री शर्माले नेपालका रमणीय प्राकृतिक सम्पदाहरुको सामिप्यतामा गरिने छायांकन मात्रै नभइ कहिल्यै पराधिन बन्नु नपरेको नेपाल राष्ट्रको गौरवशाली इतिहास र सामाजिक, सांस्कृतिक सम्पदाको अअखण्ड विरासत चलचित्रका लागि कथावस्तु हुने बताउनुभयो । उहाँले नेपाली चलचित्र क्षेत्रलाई मर्यादित र व्यवसायिक बनाउन मौलिक एवं स्तरीय चलचित्र निर्माणमा लाग्नुपर्ने बताउनुभयो ।
चलचित्र क्षेत्रलाई उद्योगको रुपमा स्थापित गर्दै यस क्षेत्रमा लाग्ने सबैको आर्थिक उन्नति गर्नु जरुरी रहेको बताउनुभयो । सञ्चारमन्त्री शर्माले नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजारीकरणमा ध्यान दिनुपर्ने बताउनुभयो । मौलिक संस्कृति लोप हुन नदिन नेपाली मौलिक संस्कृतिसँग जोडिएका कथावस्तुमा आधारित चलचित्र धेरै निर्माण गर्न जरुरी रहेको बताउनुभयो ।
उहाँले चलचित्र क्षेत्रबाट नेपाली संस्कृतिको संस्कार, संस्कृतिको जगेर्ना र प्रचारका लागि महत्वपूर्ण भुमिका निर्वाह गर्न सकिने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्