१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


जवाफदेहिता निगरानी समितिमा नयाँ नेतृत्व चयन, संयोजकमा चापागाईं तथा सहसंयोजकमा कुईंकेल र महर्जन निर्वाचित


442
Shares

काठमाडौं । द्वन्द्वोत्तर अवस्थामा संक्रमणकालीन न्याय, कानूनी शासन र मानवअधिकारको प्रवर्द्धनका लागि हस्तक्षेपकारी भूमिका खेल्दै आएको जवाफदेहिता निगरानी समितिको आज बसेको बैठकले आगामी दुई वर्षका लागि नयाँ नेतृत्व चयन गरेको छ ।

निगरानी समितिको संयोजकमा संवैधानिक तथा मानवअधिकार कानूनको क्षेत्रमा क्रियाशिल अधिवक्ता राजुप्रसाद चापागाईं चयन हुनुभएको छ । त्यसैगरी बैठकले सहसंयोजनको जिम्मेवारी क्रमशः मानवअधिकारकर्मी तथा सञ्चारकर्मी राजन कुईंकेल र अधिवक्ता रुकमणी महर्जनलाई दिएको छ ।

चापागाईं संवैधानिक कानून व्यवसायी मञ्चको पूर्वअध्यक्ष र जुरी–नेपालका संस्थापक अध्यक्ष हुनुहुन्छ । कुईंकेल एम्नेस्टी इन्टरनेसनल नेपालका पूर्वअध्यक्ष हुनुहुन्छ भने महर्जन त्रिभुवन विश्वविधालयमा कानून संकायमा उपप्रध्यापक हुनुहुन्छ ।

निगरानी समितिको बैठक निवर्तमान अध्यक्ष वरिष्ठ मानवअधिकारकर्मी चरण प्रसाईंको अध्यक्षतामा भएको थियो ।

बैकले देशमा पेचिलो बन्दै गएको दण्डहीनता, कुशासन र जवाफदेहीविहीनताको अवस्थालाई मध्यनजर राख्दै निगरानी समितिको हस्तक्षेपकारी भूमिकालाई आगामी दिनमा अझै प्रभावकारी बनाएर लानुपर्ने ठहर गरेको छ ।