९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


‘पोखरा विमानस्थल निर्माणका लागि लिएको ऋण अनुदानमा रुपान्तरण गर्न कुटनीतिक पहल भएको छ’


377
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि लिइएको ऋणलाई अनुदानमा रुपान्तरण गर्न कुटनीतिक पहल गरिएको बताउनुभएको छ ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा सांसदहरुसँग प्रश्नोत्तर गर्दै प्रधानमन्त्री दाहालले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि लिइएको ऋणलाई अनुदानका रुपमा रुपान्तरण गर्न कुटनीतिक पहल गरिएको बताउनुभएको हो ।

प्रधानमन्त्री दाहालले यससँग जोडिएका वित्तीय व्यवस्थापनका विषयमा आवश्‍यक समन्वय गरिने बताउनुभयो । उहाँले पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिएसँगै यस विमानस्थलबाट देशका विभिन्न क्षेत्रीय विमानस्थल र अन्य विमानस्थलमा समेत हवाई सेवा सञ्चालन गरी आन्तरिक पर्यटनको विकास गर्ने कार्य सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री दाहालले पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्‍चालन तथा व्यवस्थापनका लागि सार्वजनिक निजी साझेदारीको आधार तयार गर्न समिति गठन भई काम भइरहेको जानकारी दिनुभयो । उहाँले समितिको प्रतिवेदनका आधारमा विमानस्थल सञ्‍चालन तथा अन्तर्राष्ट्रिय उडानका बारेमा आवश्यक व्यवस्था मिलाइने बताउनुभयो ।