२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


निर्यातको प्रमुख आधार सिमेन्टलाई बनाउन आवश्यक : मन्त्री भण्डारी


91
Shares

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाली सिमेन्ट मुलुकभित्रै अधिकतम प्रयोग गर्ने बाटोमा सरकार अघि बढेको बताउनुभएको छ ।

बिहीबार सिंहदरबारमा बसेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै मन्त्री भण्डारीले यस्तो बताउनुभएको हो ।

मन्त्री भण्डारीले नेपालमा उत्पादित सिमेन्ट निर्यातलाई अझै व्यवस्थित गर्न बनाउँदै जाने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले गत आर्थिक वर्षको बजेटमा पनि नेपालमा उत्पादित सिमेन्टलाई प्रोत्साहन गर्ने नीति लिइएको बताउनुभयो । उहाँले निर्माण पूर्वाधारमा डिजेल किनेर प्रयोग गर्नुको सट्टा सिमेन्टको प्रयोग बढाउन आवश्यक रहेको बताउनुभयो । उहाँले नेपालको निर्यातको प्रमुख आधार सिमेन्टलाई बनाउन आवश्यक रहेको पनि बताउनुभयो ।

मन्त्री भण्डारीले अहिलेको व्यापार असन्तुलन र आयातमुखी व्यापार घाटाका चाङहरुलाई हटाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले व्यापार सन्तुलनका लागि सिमेन्ट क्षेत्र आवश्यक रहेको बताउनुभयो । उहाँले सञ्चालनमा रहेका उद्योगहरुलाई नाफामा ल्याउन र पूर्ण सञ्चालन गर्न आवश्यक रहेको बताउनुभयो । मन्त्री नेपाली कच्चा पदार्थमा आधारित उद्योगहरु मुनाफामा चल्नुपर्नेमा चल्न नसकेको स्वीकार गर्नुभयो ।

मन्त्री भण्डारीले लगानी सम्मेलनका लागि लगानीमैत्री कानून बनाउन सरकारले आवश्यक पहल गरिरहेको बताउनुभयो । उहाँले लगानी सम्मेलनलाई सहज बनाउन उद्योग मन्त्रालयले सम्मेलनअघि १० वटा कानून निर्माण गरिरहेको बताउनुभयो । उहाँले लगानी सम्मेलनका लागि द्रुत गतिमा कानून निर्माण गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो । मन्त्री भण्डारीले लगानी सम्मेलनका लागि कानून निर्माण गर्ने क्रममा निजी क्षेत्र, सांसदहरु र विज्ञहरुको टोली राखेर लगानीमैत्री वातावरण तयार पारिएको बताउनु भयो ।

मन्त्री भण्डारीले लगानीको वातावरण निश्चित गर्न अहिलेका कानूनहरु व्यवस्थित नभएको कुरालाई मनन गर्दै निजी क्षेत्रलाई साथमा लिएर सरकारले काम गरिरहेको बताउनुभयो ।