
काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले होली पर्वलाई मध्यनजर गरी सुरक्षा व्यवस्था मजबुत बनाएको छ ।
आइतबार पहाड र सोमबार तराईका विभिन्न जिल्लामा होली पर्व मनाइँदैछ । होलीको लागि प्रहरीले देशभरका सबै ठाउँमा सुरक्षा व्यवस्था मजबुत बनाएको जनाएको हो ।
शनिबार जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक भूपेन्द्रबहादुर खत्रीले होली पर्व आम नेपालीहरुको लागि मेलमिलापको पर्व भएकाले मर्यादित रुपमा मनाउन आग्रह गर्नुभयो । उहाँले प्रहरीले विगतका घटनाहरुलाई मध्यनजर गरेर सुरक्षा प्रवन्ध मजबुत बनाएको बताउनुभयो ।
जसका लागि काठमाडौंमा उपत्यका ट्राफिक प्रहरी कार्यालय र काठमाडौं परिसरका जनशक्तिहरुलाई संयुक्त रुपमा परिचालन गरी ९० भन्दा बढी स्थानमा संयुक्त चेकिङको व्यवस्था गरिएको बताउनुभयो । उहाँले सम्भावित घटनाहरु हुन नदिनका लागि भीडभाड हुने ठाउँहरुमा ड्रोनबाट पनि निगरानी गर्ने तयारी गरेको बताउनुभयो । उहाँले होली मर्यादित रुपले मनाउन सामाजिक सञ्जालबाट पनि नेपाल प्रहरीले सचेत गराएको बताउनुभयो । उहाँले होली खेल्न नचाहनेहरुका लागि जबरजस्ती रङ दल्ने, लोला हान्ने काम नगर्न सचेत गराउँदै सुरक्षित र संयमित भएर होली मनाउन अनुरोध गर्नुभयो ।
प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्रबहादुर खत्रीले नराम्रा गतिविधि गरेको देखे वा थाहा पाए नेपाल प्रहरीको टोल फ्रि नम्बर १०० र जिल्ला प्रहरी परिसर काठमाडौं प्रमुखको नम्बर ९८५१२०५५५५ मा सम्पर्क गरिदिन आग्रह गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्