२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


सुखी नेपाली समृद्ध नेपालको सपना समाजवादबाट मात्रै पूरा हुन्छ : नेता खनाल


299
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले समाजवादमा पुगेर मात्रै देशलाई समृद्ध बनाउन सकिने बताउनुभएको छ ।

आइतवार अनेरास्ववियु त्रिचन्द्र क्याम्पस कमिटीको आयोजनामा भएको वृहत होली मिलन कार्यक्रमलाई संक्षिप्त सम्बोधन गर्दै सम्मानित नेता खनालले समाजवाद प्राप्त गरेर मात्रै देशमा शान्ति र समृद्धि ल्याउन सकिने बताउनुभएको हो । उहाँले देशको विकास गर्न र विकृति, बिसंगतिहरुलाई अन्त्य गर्न समाजवाद आवश्यक भएको बताउनुभयो ।

सम्मानित नेता खनालले समाजवादको भविष्यमा पुगेर मात्रै देशलाई समृद्ध देशको रुपमा रुपान्तरण गर्न सकिने बताउनुभयो । खनालले सुखी नेपाली समृद्ध नेपालको सपना समाजवाद अघि पूरा हुन नसक्ने बताउनुभयो ।

‘समाजवाद प्राप्त गरेर मात्रै तपाई, हामीले देशमा शान्ति, समृद्धि ल्याउन सक्छौँ । विकास ल्याउन सक्छौँ । आजको सारा विकृति र विसंगतिहरुलाई अन्त्य गर्नसक्छौँ । आजको युग अब समाजवादको युग हो । आज मात्रै हाम्रो पार्टीको सचिवालयले महाधिवेशनको एउटा नारा तय गरेको छ, दक्षिणपन्थी अवसरवादको बिरोध गरौँ, समाजवाद निर्माण गर्नका लागि अगाडी बढौँ । अब यो हाम्रो पार्टीको मात्र होइन । सिंगो देशको नारा हुनुपर्छ ।’ नेता खनालले भन्नुभयो ।

सम्मानित नेता खनालले देशका युवाहरु साम्राज्यवादी, प्रभुत्ववादी र हस्तक्षेपकारी शक्तिहरुका विरुद्ध एकतावद्ध भएर अगाडी बढ्नुपर्ने बताउनुभयो । उहाँले देशभित्रै शोषण, दमन र अत्याचार गर्ने दलाल पुँजीवादी शक्तिहरुका बिरुद्ध पनि आम जनतालाई एकतावद्ध बनाएर लैजानुपर्ने बताउनुभयो साथै उहाँले विद्यार्थीहरुलाई राज्यको उपल्लो निकायसम्म पुग्न शुभकामना दिँदै भ्रष्टाचारी भने कहिल्यै नबन्न अनुरोध गर्नुभयो ।