
काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले राजनीतिक दलका लागि सत्तामात्रै महत्वपूर्ण भएको हुने गरेको बताउनुभएको छ ।
बुधबार विश्व परिवेशमा प्रजातन्त्र र मानव अधिकार रक्षार्थ सञ्चार वकालत कार्यक्रममा बोल्दै सांसद पौडेलले यस्तो बताउनुभएको हो ।
सांसद पौडेलले अहिले राजनीतिक दलहरुका लागि सत्ता नै सबैथोक हुने गरेको उल्लेख गर्नुभयो । उहाँले नयाँ राजनीतिक दल वा पुराना राजनीकि दलहरु सबैका लागि सत्ता नै सबैथोक भएको भन्दै यसले लोकतन्त्रको रक्षा हुन नसक्ने जिकिर गर्नुभयो । उहाँले सत्ता प्राप्तिका लागि राजनीतिक दलहरु मानव अधिकार उल्लंघन गर्न पनि तयार हुने गरेको बताउनुभयो । उहाँले सत्ता केन्द्रित राजनीतिक मनोविज्ञान भएको हुनाले नागरिक आन्दोलनले मात्रै निःस्वार्थ ढंगबाट कुराहरु उठाउन सक्ने बताउनुभयो । उहाँले अहिले नागरिक आन्दोलन कमजोर बन्दै गएको बताउनुभयो ।
सांसद पौडेलले संसदको चुनाव गर्ने र बहुमत जुटाएर प्रधानमन्त्री बन्नेकुरा मात्रै लोकतन्त्र नभएको बताउनुभयो । उहाँले राज्यले आम नागरिकप्रति उत्तरदायी भएर काम गर्नु र सरकार जवाफदेही बन्नु लोकतन्त्र भएको बताउनुभयो । उहाँले सुशासनको स्थिति अहिले विगतको भन्दा कमजोर रहेको बताउनुभयो । उहाँले आम जनताको न्यायमा पहुँच पुग्न नसक्नु अर्को बिडम्वना भएको बताउनुभयो । सांसद पौडेलले कानूनबाट चल्नुपर्ने देश ट्रस्टीबाट चलेको आरोप लगाउनुभयो ।
सांसद पौडेलले विधिको शासन स्थापित गर्न चाहने देशमा पहुँच पुगेमात्रै न्याय प्राप्त गर्ने स्थिति बन्नु दुःखद् भएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्