
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद पशुपतिसमशेर जबराले नेपालको पर्यटकीय सम्भावनालाई उचित किसिमले विश्वमा प्रचार गर्नसके अहिलको भन्दा चार गुणा बढी विदेशी पर्यटक आगमन हुने दाबी गर्नुभएको छ ।
बिहीबार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकमा बोल्दै नेता जबराले यस्तो दाबी गर्नुभएको हो ।
नेता जबराले नेपाल संसारको सबैभन्दा सुन्दर मुलुक भएपनि सरकारले प्रसारप्रचार गर्न नसकेको बताउनुभयो । उहाँले उचित किसिमले नेपालको पर्यटकीय सम्भावनाको विषयमा प्रचारप्रसार गर्नसके धेरै भन्दा धेरै पर्यटक भित्र्याउन सकिने बताउनुभयो । उहाँले विश्वलाई नेपालका पर्यटकीय गन्तव्यको विषयमा अहिलेसम्म सन्देश दिन नसकिएको बताउनुभयो ।
नेता जबराले एक पटक विश्वलाई नेपालका पर्यटकीय गन्तव्यका विषयमा सन्देश दिनसके नेपालमा धेरै पर्यटक आगमन हुने विश्वास रहेको बताउनुभयो । उहाँले नेपालको जलस्रोत पछि सबैभन्दा दोस्रो ठूलो उद्योग पर्यटन भएकाले पर्यटनमार्फत मुलुक समृद्ध बनाउन सकिने बताउनुभयो । उहाँले मुलुक सम्भावना नै सम्भावनाले भरिएको भन्दै सम्भावनाप्रति सरकारले दक्ष व्यवस्थापन र इमान्दारी देखाउन आवश्यक रहेको बताउनुभयो ।
नेकपा एमालेका सांसद दामोदर पौडेल वैरागीले समितिले नेपालको पर्यटन प्रवद्र्धनका विषयमा सबैसँग छलफल गर्ने तर निचोड ननिकाल्ने गरेको बताउनुभयो । उहाँले निजी क्षेत्रले हरेक पटक पर्यटन प्रवद्र्धनका लागि कानून संशोधन लगायतका विषयमा लिखित रुपमा सुझाव दिएपनि कार्यान्वयनको लागि संसदमा नगएको बताउनुभयो । उहाँले निजी क्षेत्रले दिएका लिखित सुझावहरु दुई वर्षसम्म पनि कार्यान्वयनमा नल्याइएकोप्रति असन्तुष्टि व्यक्त गर्नुभयो ।
नेपाली कांग्रेसका सांसद उदय समशेर राणाले उपत्यकामा आन्तरिक पर्यटक बढेको बताउनुभयो । उहाँले नेपालमा थोरै समय निकालेर आउने तर टे«किङ गर्न चाहने पर्यटकहरुको लागि उपत्यकाका पदमार्गहरुलाई चलायमान बनाउन आवश्यक रहेको बताउनुभयो ।
नेता जबराले उपत्यका भित्र साइक्लिङ र पदमार्गलाई व्यवस्थित बनाउनसके मात्रै पनि पर्यटन प्र्रवद्र्धनमा थप सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्