
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्योगी व्यवसायीहरुले अर्थतन्त्रको सकारात्मक सन्देश दिनसके अर्थतन्त्र तत्काल लयमा आउने बताउनुभएको छ ।
शुक्रबार नेपाल निर्माण व्यवसायी महासंघको हेटौँडामा भएको २५ औं वार्षिक साधरण सभामा बोल्दै अध्यक्ष ढकालले यस्तो बताउनुभएको हो ।
अध्यक्ष ढकालले उद्योगी व्यवसायीहरुले मनोवबल कमजोर भयो,व्यवसायी वातावरण भएन भन्दा पनि सकारात्मक रुपमा सोच्न आवश्यक रहेको बताउनुभयो । उहाँले मुलुकभरका उद्योगी व्यवासायीहरुलाई मुलुकको अर्थतन्त्र सकारात्मक दिशामा रहेको सन्देश दिनसके छोटो समयमा व्यवसायीहरुले चाहेको जस्तो आर्थिक विकास हुनसक्ने विश्वास व्यक्त गर्नुभयो ।
अध्यक्ष ढकालले अब उद्योगी व्यवसायीहरुले निरासको मात्रै कुरा गरेर, व्यवसायिक वातावरण छैन भनेर निरास हुन आवश्यक नभएको बताउनुभयो । उहाँले मुलुकको वाह्य अर्थतन्त्र विदेशी विनिमय सञ्चिति,रेमिट्यान्स,पर्यटक वृद्धि र बैंकमा तरलता सकारात्मक रहेको बताउनुभयो ।
अध्यक्ष ढकालले सरकारले आगामी बजेट र मौद्रिक नीतिमा बैंक तथा वित्तीय संस्थाले निर्माण क्षेत्रमा निश्चित प्रतिशत लगानी गर्नुपर्ने अनिवार्य व्यवस्था गर्न माग गर्नुभयो । उहाँले बैंक तथा वित्तीय संस्थाहरुले कृषि,जलविद्युत लगायत अन्य क्षेत्रमा जस्तै निर्माण क्षेत्रमा पनि प्राथमिकताका साथ लगानी गर्ने व्यवस्था गर्दा विकास निर्माण चलायमान हुनसक्ने बताउनुभयो ।
नेपाल उद्योग परिसंघका उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले मुलुकको वाह्य अर्थतन्त्रमा सुधार आएपनि आन्तरिक अर्थतन्त्रमा सुधार हुन नसकेको बताउनुभयो । उहाँले मागमा वृद्धि र निजी क्षेत्रको मनोवल पनि माथि उठ्न नसकेको अवस्थाले उद्योगी व्यवसायीहरुले नयाँ लगानीका योजनाहरु अघि बढ्न नसकेको जानकारी गराउनुभयो । उहाँले निजी क्षेत्रको मनोबल बढाउन र अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति थप लचिलो बनाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
उपाध्यक्ष पाण्डेले सरकारले पुँजीगत खर्च बढाएर अर्थतन्त्रलाई गतिशिलता दिन आवश्यकता रहेको उल्लेख गर्नुभयो । उहाँले अर्थतन्त्र चालयमान बनाउन सक्ने उपाय प्रभावकारी बजेट कार्यान्वयन भएको भन्दै प्रभावकारी बजेट कार्यान्वयनबाट पुँजीगत खर्च बढ्ने र अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग गर्ने धारणा राख्नुभयो । उपाध्यक्ष पाण्डेले सरकारले पुँजीगत खर्च बढाउन नसक्दा विकास निर्माणका काम अघि बढ्न नसकेको दाबी गर्नुभयो । उहाँले चालु आर्थिक वर्षको ८ महिना पूरा हुँदा पनि पुँजीगत खर्च ३० प्रतिशत भन्दा माथि नगएको बताउनुभयो ।
उपाध्यक्ष पाण्डेले निर्माण व्यवसायीहरुले पाउनुपर्ने रकम भुक्तानी भए अर्थतन्त्र चलायमान बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले सरकार आगामी वर्षको बजेटमा स्वदेशी उद्योगहरुलाई प्रवद्र्धन गर्ने रणनीति लिनुपर्नेमा जोड दिनुभयो । उहाँले स्वदेशी उद्योगहरुको प्रवद्र्धन गर्दै स्वदेशी उत्पादनमा आत्मनिर्भर हुन आगामी बजेट कोषेढुङ्गा सावित हुनुपर्ने परिसंघको माग रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्