२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


जित नजिक पुगेर हार्‍यो नेपाल


3.848k
Shares

काठमाडौं । लोकेश बमको शतकीय इनिङका बाबजुद नेपाल ‘ए’ शुक्रबार पहिलो ट्वान्टी–२० क्रिकेटमा आयरल्याण्ड ‘ए’ सँग नाटकीय हार व्यहोर्न बाध्य भएको छ ।

लोकेशको १०२ रनको शतकीय इनिङका बाबजुद नेपाल ‘ए’ पाहुना टोलीसँग २१ रनले पराजित भएको हो ।

कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा २२३ रनकोे विशाल लक्ष्य पछ्याएको नेपाल १९.३ ओभरमा २०१ रनमै समेटियो । यससँगै तीन खेलको शृंखलामा पाहुना टोलीले अग्रता लिएको छ । १७औं ओभरमा १९३/४ को अवस्थामा रहेको नेपाल जितनजिक थियो । जितका लागि १८ बलमा ३० रन आवश्यक हुँदा नेपालसँग ६ विकेट हातमा थियो । खातामा थप ८ रन जोड्दा नाटकीय रूपमा ६ विकेट गुमाएपछि नेपालले हार सामना ग¥यो । नेपालले १८ औं, १९ औं र २०औं ओभरमा समान दुई विकेट गुमाउन पुग्यो ।

लोकेशले ५२ बलमा नै शतक पूरा गरे । उनी १६ औं ओभरको अन्तिम बलमा फिओन हान्डद्वारा आउट भए । यस क्रममा लोकशले ५६ बलमा ९ चौका र ८ छक्का हिर्काए । लोकेशले चौथो विकेटका लागि आरिफ सेखसँग १२१ रनको यादगार साझेदारी गरे । १८ औं ओभरमा आरिफ ४९ रनमा पाँचौं विकेटका रूपमा आउट भए । २६ बलमा एक चौका र पाँच छक्का प्रहार गरे । आरिफ आउट भएपछि कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । ओपनर तथा कप्तान विनोद भण्डारीले १६ रन जोडे ।

यी तीनबाहेक कुनै पनि ब्याटरले रन जोड्न नसक्दा जितनजिक पुगेको नेपाल पराजित भयो । आयरल्याण्ड ‘ए’ को बलिङमा हान्ड र म्याथ्युज हाम्फ्रेजले तीन तथा म्याथ्यु फोस्टरले दुई विकेट, थोमस मायस र गोभिन होएले समान एक विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको आयरल्याण्डको टोलीले निर्धारित २० ओभरमा पाँच विकेट मात्र गुमाउँदै २२२ रनको विशाल योगफल खडा गर्‍यो । पाहुना टोलीको शुरुवात राम्रो हुन सकेन । इनिङको दोस्रो बलमा नै ओपनर रोस एडेरलाई गुमायो ।

तर त्यस पछिका ब्याटरले आक्रामक ब्याटिङ विशाल योगफल खडा गर्‍यो । ओपनर पिटर मोरले ४९ रन, केड कार्मिकाइल र कप्तान निल रकले समान ३८ रन, स्टेफन डोहेनीले ३४ रन जोड्दा ग्यारेथ डेलेनीले ३० रन र गाभिनले १८ रनमा नटआउट रहेपछि घरेलु टोलीले चुनौतीपूर्ण लक्ष्य सामना गर्‍यो । नेपालको बलिङमा कमलसिंह ऐरीले तीन विकेट तथा सागर ढकाल र आरिफले समान एक विकेट लिए पनि महंगा बने । नेपालले शनिबार दोस्रो खेल खेल्दैछ ।