
बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जले गैंडा अनुगमन सुरु गरेको छ ।
गैडाको संख्या र अवस्था बुझ्न गैंडाको अनुगमन सुरु गरिएको हो ।
अनुगमनमा निकुञ्जका कर्मचारी, नेपाली सेना, राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक टोलीलगायत १० वटा हात्ती परिचालित गरिएको छ ।
१५ दिनसम्म गैंडाको अनुगमन गर्ने निकुञ्ज प्रशासनले जनाएको छ । अनुगमन गर्न १० वटा हात्ती, निकुञ्ज सुरक्षाका लागि तैनाथ सेना, निकुञ्जका कर्मचारी लगायत राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक टोली परिचालित भएको सहायक संरक्षण अधिकृत पुरुषोत्तम वाग्लेले जानकारी दिनुभयो ।
गैंडाको बासस्थान मानिएको बबई उपत्यका र कर्णाली नदी तटीय क्षेत्रमा ६ वटा बल्कमा अनुगमन गरिने अधिकृत वाग्लेले बताउनुभयो । निकुञ्जमा पछिल्लो गणना २०२२ का अनुसार ३८ वटा गैंडा रहेका छन् । बर्दिया निकुञ्ज हुँदै बग्दै गरेको गेरुवा नदीमा पानी सुकेका कारण केही गैंडा पिउने पानी समस्याले भारतीय सेन्चुरीमा पुगेको आशंका गरिएको छ ।
कर्णाली नदीको भंगालो गेरुवा नदीमा ०७१ र ०७४ सालमा आएको बाढीले नदीजन्य पदार्थ थुपारेपछि धार परिवर्तन गर्दा पानी सुक्दै गएको हो । करिब १५ वर्षयता बर्दिया राष्ट्रिय निकुञ्जमा एउटा पनि गैंडा चोरी सिकारका कारण मारिएका छैनन् । कडा सुरक्षा, संरक्षणमा लागेका युवालगायत समुदायको सहयोगले लामो समयदेखि बर्दिया निकुञ्ज चोरी सिकार शून्य बन्दै गएको प्रमुख संरक्षण अधिकृत अशोक रामले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्