
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले मधेस प्रदेशमा एसईईमा चिट चोरिएको विषयको दोष त्यहाँका प्रमुख जिल्ला अधिकारीहरु, एसपीहरु र निरीक्षकले लिनुपर्ने बताउनुभएको छ ।
सोमवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद झाले मधेस प्रदेशका विभिन्न जिल्लाहरुमा एसईईमा चिट चोराइएको र आम मधेसलाई दोष दिइएको भन्दै मधेसलाई दोष नदिन आग्रह गर्नुभएको हो ।
सांसद झाले सरकारले खटाएको प्रमुख जिल्ला अधिकारी, एसपी र निरीक्षकहरुले चिट चोर्न छुट दिएको भन्दै चिट चोराउनुमा मधेसको कुनै दोष नभएको बताउनुभएको हो । उहाँले सरकारले मधेसमा हुँदै गरेको परीक्षालाई गम्भिरतापूर्वक लिनुपर्ने बताउनु भयो । उहाँले परिक्षालाई आवश्यक पद्धति र कडाइका साथ परिक्षा गर्न आग्रह गर्दै मधेसलाई दोष नदिन आग्रह गर्नुभयो ।
सांसद झाले भन्नुभयो– ‘यहीँबाट खटाइएको सिडिओ, एसपी, निरिक्षक सबै अधिकारीहरुले छुट दिइराखेको छ, त्यसको मूल्य मधेसले तिरिराखेको छ । तर यसको दोष हामी मधेसी होइनौँ, यसको दोष केन्द्रबाट खटाइने सिडिओ, एसपी र अरु अधिकारीहरु हुन् । त्यसैले यहाँ सबैको ध्यानाकर्षण गराउन चाहन्छु, मधेसमा हुँदै गरेको परीक्षालाई गम्भिरतापूर्वक लिइयोस् । आवश्यक विधि, पद्धति र कडाइका साथ परिक्षा गरियोस् । ताकि यसको मूल्य भविष्यमा मधेसले तिर्नु नपरोस् ।’
सांसद झाले आगामी दिनमा सम्बन्धित अधिकारीको त्रुटीका कारण त्यसको मूल्य मधेसले नतिर्ने पनि उहाँले स्पष्ट पार्नुभयो ।
प्रतिक्रिया दिनुहोस्