
काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले सरकारले रुसी सेनामा गएको नेपालीहरुको खोज्ने प्रयत्न समेत नगरेको बताउनुभएको छ ।
रुसमा नेपाल आउने चाहनमा तडपिएर बसेका नेपालीहरुलाई फिर्ता ल्याउने काममा पनि सरकार गम्भिर नभएको सांसद पौडेलको भनाई थियो ।
सोमबार प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै सांसद पौडेलले ती नेपालीहरुलाई नेपाल ल्याउन प्रयास किन नगरेको भनि सरकारलाई प्रश्न समेत गर्नुभयो । करिब ३ सय बढी रुसी सेनामा कार्यरत नेपालीहरु बेपत्ता भएको तथ्यांक आफूले पाएको उल्लेख गर्दै सांसद पौडेलले त्यसको खोजी गर्न समेत सरकारले पहल नलिएको जिकिर गर्नुभयो । उहाँले युक्रेनी सेनामा पनि नेपालीहरु रहेको कुरा युक्रेनले सार्वजनिक गरेको भन्दै त्यसप्रति पनि सरकारले चासो नदिएको बताउनुभयो ।
सांसद पौडेलले सरकारले युएनलगायतका मानव अधिकारवादी संघ, संस्थासँग आग्रह गरेर भएपनि रुस र युक्रेनको सेनामा कार्यरत नेपालीहरुलाई फिर्ता ल्याउन पहल गर्नुपर्ने धारणा समेत राख्नुभयो ।
प्रतिक्रिया दिनुहोस्